
जीवनराज दाहाल,बर्दिवास, महोत्तरी – बर्दिवास नगरपालिका–६ मा सक्रिय जनशक्ति युवा क्लबका १७ जना खेलाडीलाई नयाँ फुटबल ड्रेस सेट प्रदान गर्दै समाजसेवी तथा बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले स्थानीय खेल क्षेत्रमा फेरि एकपटक सहयोगी भूमिका निर्वाह गरेका छन् ।
खेलाडी युवाहरूको अनुरोधमा ड्रेस वितरण गरिएको जानकारी दिंदै अध्यक्ष खड्काले भने, "सकेसम्मको साथ दिने प्रयासस्वरूप मैले ड्रेसको व्यवस्था गरेको हुँ । अब भने स्थानीय सरकार र वडालाई मैदानको स्थायी संरचना निर्माणतर्फ ध्यान दिन आग्रह गर्छु । तपाईंहरू युद्ध जित्न चाहनुहुन्छ, तर हतियारविना सम्भव छैन । यदि प्रत्येक वडामा खेलमैदान भए भविष्यका खेलाडीहरूका लागि सुनौलो बाटो खुल्नेछ ।"

खेल गतिविधिमार्फत युवाहरूलाई कुलत र मोबाइलको अत्यधिक प्रयोगबाट टाढा राख्न सकिने उल्लेख गर्दै उनले खेलले स्वास्थ्य मात्र होइन, राष्ट्रिय गौरव पनि बलियो बनाउने बताए । यसअघि पनि उनले यही क्लबलाई ड्रेस सहयोग गरेका थिए ।
नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै उनले वडास्तरीय कप प्रतियोगिता सफल होस् भन्ने कामनासमेत गरे ।
क्लबका कप्तान विवेक पोखरेलले नयाँ जर्सीले टिममा नयाँ ऊर्जा थपिएको बताउँदै भने, "एक वचनले हामीलाई नयाँ रूप दिएको छ । गत वर्षजस्तै यसपालि पनि विष्णु सरबाट सहयोग प्राप्त भयो । यो निरन्तरता आगामी दिनमा पनि रहनेछ भन्ने आशा लिएका छौँ ।"

त्यस्तै, टिम मेनेजर शिवराज खपाङ्गीले अध्यक्ष खड्काप्रतिको आभार व्यक्त गर्दै भने, "यस मायाले हाम्रो आत्मबल बढेको छ । हामी अझ समर्पित भएर अगाडि बढ्नेछौँ ।"
स्थानीय युवालाई खेलतर्फ आकर्षित गर्ने खड्काको यो कदम प्रेरणादायी बन्ने छ ।



