
जनकपुरधाम - धनुषा जिल्लाको ढल्केबरमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा आगलागी भएको छ । आज बिहान आगलागी हुँदा धनुषा, महोत्तरी र सर्लाही जिल्लाका केही क्षेत्रको विद्युत् सेवा प्रभावित भएको छ ।
नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका प्रमुख शम्भुकुसियैत यादवका अनुसार ढल्केबर ग्रिडमार्गबाट सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी भएको हो। आगलागीका कारण सबस्टेसनका विभिन्न पार्टपुर्जा जलेर नष्ट भएका छन्।

प्रमुख यादवले नयाँ ट्रान्सफर्मर जडानको प्रक्रिया तीव्रगतिमा अघि बढिरहेको बताए । जडान सम्पन्न भएलगत्तै प्रभावित क्षेत्रको विद्युत् आपूर्ति पुनः सुचारु हुने उनको भनाइ छ ।
हाल १३२ केभी प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ भने ३३ केभी लाइनमा अझै अवरोध रहेको उनले बताए । उनका अनुसार दुई ट्रान्सफर्मर सञ्चालनमा आएपछि कुल विद्युत आपूर्तिको करिब ७० प्रतिशत सेवा पुनः पूर्ववत् अवस्थामा फर्कनेछ ।