काठमाडौं – नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठकले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने बताएको छ ।
गत मंगलवारदेखि शुरु भएको बैठकले मुलुकका रुपान्तरणकारी एजेण्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णय समेत गरेको छ ।



बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले बैठकले पार्टीमा युवा विद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशन अगावै युवाविद्यार्थी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बताए ।
त्यस्तै बैठकले बैठकले देशभर पार्टीको बिस्तार गरी आगामी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक पालिकाहरुमा बहुमत ल्याउन सक्नेगरी पार्टीको निर्माण गरेरमात्रै त्यो अभिभारा पूरा गर्न सकिने र आगामी दिनमा सबै राजनीतिक र साङ्गठनिक प्रयासहरु त्यसकै लागि केन्द्रित हुने निर्णय गरेको छ ।
त्यस्तै बैठकले कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वडाहरुमा कमिटी गठन र सबै कमिटीहरुले सदस्यताको वितरण गर्ने काम हुने प्रवक्ता खतिवडाले बताए ।
बैठकले देशका विभिन्न स्थानहरुमा दलितको घर जलाउने, निर्माणाधिन घर भत्काउने, अन्तरजातीय विवाह गर्नेहरुलाई झुटा मुद्दामा फसाउने लगायतका दलित माथी हुने जातीय छुवाछुत र भेदभावको घटनाको भत्र्सना गरेको छ । जातीय छुवाछुत जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गरेको छ ।




