
जनकपुर - बाराको जितपुर सिमरा नगरपालिका–१६ मा टिपर र कार एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
निजगढतर्फबाट पथलैयातर्फ गइरहेको प्रदेश २–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१–०२५ च ५०७६ नम्बरको कार भूँइँपुल नजिक दिउँसो करिब ३ बजेको समयमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितका अनुसार दुर्घटनामा सर्लाहीको सुन्दरपुर निवासी कार चालक जितनारायण साह र सोही कारमा सवार बरहथवा–१५ का नारायणहरी शर्माको मृत्यु भएको हो। गम्भीर घाइते अवस्थामा दुबैलाई उपचारका लागि प्रसूति अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि टिपर चालक फरार भएका छन् भने उनको खोजी भइरहेको डिएसपी पण्डितले जानकारी दिए।