
जीवनराज दाहाल : बर्दिवास - शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३० औँ राष्ट्रिय छन्द दिवसको अवसरमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान एवम् पुरस्कार समर्पण कार्यक्रमको आयोजना गर्यो ।
शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक तथा बर्दिवास छन्द चौतारीका अध्यक्ष प्रेम घिमिरे 'अग्नि कवच' को अध्यक्षता र मधेस प्रदेश क्षेत्र नं. १ 'क' प्रदेश सभा सदस्य माननिय शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. सुमन कर्माचार्यलाई रू. १५,५५५/- राशीको शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१ द्वारा सम्मान गरिएको हो । यसैगरी शिशिर घिमिरे स्मृतिको सम्झनामा जनवादी लेखक सङ्घ सितामढी (भारत) का कोषाध्यक्ष महमद कामरुदिन नदाफद्वारा विशेष शारीरिक क्षमता भएका दुई विद्यार्थीलाई छात्रवृत्ति स्वरुप जनही रु ५५५५ का दरले प्रदान गरियो । जसमा जनता मावी गौरीडाँडामा कक्षा ८ मा अध्ययनरत छात्रा गरिमा परियार र जनता बहुमुखी क्याम्पस बर्दिवासमा चौथो वर्षमा अध्ययनरत छात्र दिनेश महतोलाई प्रदान गरिएको थियो । साथै साहित्य तथा शिक्षाप्रेमी मिना देवकोटाद्वारा जनता मावि बर्दिवासको कक्षा १० मा अध्ययनरत छात्रा सुस्मिता कट्वाललाई २५५५ छात्रवृत्ति प्रदान गरियो ।

कार्यक्रममा मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, कोशी प्रदेश उदयपुर र बाग्मती प्रदेशको रामेछाप, सिन्धुली जिल्लाका साहित्यकारहरूको सहभागिता थियो । सहभागी अतिथीहरूमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतम, समाजसेवी तथा साहित्यप्रेमी सरिता ढुङ्गाना, प्रलेस मधेस प्रदेशको अध्यक्ष नारायण घिमिरे, बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्का, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेशका अध्यक्ष रुद्रसेन विश्वकर्मा, प्रलेसको केन्द्रीय सदस्य विमला विक, होटल तथा पर्यटन व्यवसायी महासंघ महोत्तरीका अध्यक्ष गुञ्ज बहादुर कार्की 'गोपाल', लेखक निला घिमिरे लगायतका व्यक्तित्वहरू थिए ।

उक्त कार्यमा विभिन्न भाषा र लयका गीत, गजल, कविता वाचन गरिएका थिए । वाचन गर्ने सर्जकहरूमा कुमार कुसुम, गोपाल यादव, मेघराज पौडेल, लालबाबु पोखरेल, कामरुदिन नदाफ, सुमित्रा आचार्य, बेल बहादुर परियार, श्याम यादव, पुनम झा, बाबुराम फुयाल, प्रतिमा पौडेल, पुष्पा गजमेर, विपिराज दाहाल, केशव फुयाल, जीवन आचार्य, घनश्याम पन्त, डा. सुमन कर्मचार्य, लम्बोदर काफ्ले, डा. जो जोनसन, डा. जेनी हेरिङटन, बोध कुमार घिमिरे लगायतले वाचन गरेका थिए भने सहभागी सर्जकहरूलाई स्व. शिशिर घिमिरेकी आमा देवि घिमिरेबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने व्यक्तिहरूमा बुढ्यौली साहित्य समाज मधेस प्रदेशका अध्यक्ष लम्बोदर काफ्ले, बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु खड्का थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य माननीय शारदा थापाले आजको कार्यक्रमले नेपाली साहित्यप्रति कलम चलाउने सम्पूर्णमा हौसला प्राप्त भएको कुरा आफूले बुझेको बताएकी थिइन् । स्व. शिशिर घिमिरेलाई जीवन्त तुल्याउनका निमित्त स्थापना गरिएको शिशिर घिमिरे स्मृति प्रतिष्ठान युगौँ युगसम्म चलिरहोस् भन्ने शुभकामना व्यक्त गरेकी थिइन् ।

यस कार्यक्रमबाट सम्मानित हुनुहुने प्रलेस केन्द्रका केन्द्रिय उपमहासचिव बोध कुमार घिमिरेले यस संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै यस संस्थाको गरिमामय उचाइलाई सधैंब कायम राख्न आफूले पनि सहयोग गर्ने कुरा व्यक्त गरेका थिए ।
शिशिर स्मृति प्रतिभा पुरस्कार २०८१ बाट सम्मानित हुनेमा प्रा.डा. सुमन कर्मचार्यले यस प्रतिष्ठानबाट आफू सम्मानित भएकोमा अत्यन्त हर्षित भएको कुरा व्यक्त गरेका थिए । उनले मोफसलमा रहेका साहित्य सर्जकहरूलाई सम्मान गर्दै साहित्यमा लाग्न प्रेरणा दिने यस संस्थाका संस्थापक तथा संरक्षक प्रेम घिमिरे र उहाँ धर्मपत्नी देवि घिमिरेप्रति हार्दिक आभार व्यक्त गर्दै शिशिर घिमिरे स्मृति प्रतिष्ठानको उत्तर उत्तर प्रगतिको कामनासमेत व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्तमा सभाध्यक्ष यस शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक प्रेम घिमिरेले यस वर्षको शिशिर प्रतिभा पुरस्कार प्रा.डा. सुमन कर्मचार्यलाई प्रदान गर्न पाउँदा खुसी भएको कुरा व्यक्त गरेका थिए । साथै यस प्रतिष्ठानको स्थापना पनि साहित्य सङ्गीतमा रुचि राख्ने व्यक्तिहरूलाई हौसला प्रदान गर्न सम्मान गर्नेगरी प्रोत्साहन स्वरुप सम्मान गर्ने उदेश्य लिएको बताए । साथै सम्मानित व्यक्तित्व प्रा.डा. सुमन कर्माचार्य आफ्नो पेशाका साथै समाज सेवा र साहित्य सृजनामा तन, मन र वचनले लाग्ने व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा व्यक्त गरे ।
उक्त कार्यक्रमको संचालन सर्जक नारद काफ्लेले गरेका थिए भने उपस्थिति प्रमुख अतिथी, विशिष्ट अतिथी, सम्मानित व्यक्तित्व, अतिथीलगायत सम्पूर्णलाई सर्जक भिमकुमार राउतले शब्दद्वारा स्वागत गरेका थिए । उक्त कार्यक्रम बर्दिवासस्थित विनायक ब्याङ्केटको सभा हलमा सम्पन्न भएको थियो ।