
धनुषा - धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ मा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनुषाधामले अब आफ्नै जग्गामा कार्यालय संचालन गर्ने भएको छ।
धनुषाधामका युवा व्यवसायी एवं नेकपा एमालेका युवा नेता सुर्यनाथ यादवले सो कार्यालयका लागि २ कट्टा ४२ लाख रुपैयाँ बराबर मूल्य पर्ने जग्गा दान गरेका छन्। यादवले धनुषाधामको विकासका लागि विभिन्न सरकारी कार्यालय र संस्थाहरू आवश्यक पर्ने भन्दै प्राधिकरणलाई जग्गा दान गरेको बताएका छन्। उनले भने, धनुषाधाम विकासको दिशामा अघि बढिरहेको छ।
यहाँ विभिन्न कार्यालयहरू आवश्यक पर्ने भएकाले मैले विद्युत प्राधिकरणलाई जग्गा दान गर्ने निर्णय गरेको हुँ। जग्गा हस्तान्तरणमा धनुषाधाम वितरण केन्द्रका कार्यालय प्रमुख रोशन कुमार सिंहको महत्वपूर्ण भूमिका रहेको यादवले बताए। प्रमुख सिंहले विद्युत कार्यालय हालसम्म भाडामा संचालन हुँदै आएको उल्लेख गर्दै अब आफ्नै जग्गा प्राप्त भएकामा खुसी व्यक्त गरे।
उनले भने, सबैभन्दा पहिले, जग्गा दान गर्ने सुर्यनाथ यादवलाई नेपाल विद्युत प्राधिकरणको तर्फबाट धन्यवाद दिन चाहन्छु। यस वर्ष नै बाउण्ड्री वाल निर्माण हुनेछ, र अर्को आर्थिक वर्षमा कार्यालय भवन निर्माण गरिनेछ। त्यसपछि हामी आफ्नै भवनमा कार्यालय संचालन गर्नेछौं। यस सहयोगले धनुषाधामको पूर्वाधार विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।