
जनकपुरधाम - स्थानीय तहले असार १० गते (मङ्गलबार)सभा सम्पन्न गर्नुपर्ने प्रावधान अनुसार भइरहेको गाउँ/नगरसभाको क्रममा धनुषाको स्थानीय तहहरुमध्ये कतिपयमा एकातिर तामझामका साथ सभा गरिएको छ भने अर्कोतर्फ विरोध हुने अवस्था देखिएको छ । कतिपय ठाउँमा जनप्रतिनिधिहरु नै दुई भागमा विभाजन भएको अवस्था देखिएको छ । कतिपय ठाउँमा नगरप्रमुख-अध्यक्ष सहितका केही वडा अध्यक्ष र सदस्यहरु एक पक्षमा र नगरउप प्रमुख-उपाध्यक्षहरु अर्को पक्षमा देखिएका छन् भने कतिपय पालिकाहरुले बजेट ल्याउनै सकेनन् ।
यस्तो हुनुको मुख्य कारण जनप्रतिनिधिको स्वार्थ पूर्ति नहुनु रहेको नागरिक समाजले टिप्पणी गरेका छन् । यस्तै जनप्रतिनिधिहरुको आपसी विवादको कारण धनुषाका ६ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि निर्धारित समयमा नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेका छैनन् । नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक गाउँपालिका र नगरपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँसभा वा नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ । सोही ऐनले नीति तथा कार्यक्रम तथा बजेट पेश गरेपछि १५ दिनभित्र बहुमतले पारित गर्नुपर्ने प्रावधानसमेत राखेको छ ।
तर यो प्रावधानअनुसार जिल्लाभित्रका १८ स्थानीय तहमध्ये १२ स्थानीय तहले भने निर्धारित सयममा नीति, कार्यक्रम तथा बजेट पेस गरेका छन् भने ६ स्थानीयतहले बजेट ल्याउन सकेनन् । यसरी बजेट ल्याउन नसकेको स्थानीयतहरुमा मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिका र औरही गाउँपालिका रहेका छन् । यी स्थानीय तहले बजेट तयारी नपुगेको, आन्तरिक विवाद, जनप्रतिनिधिबीचको मतभेद र कार्यपालिका सदस्यको अनुपस्थितिका कारण समय मै बजेट पेश गर्न नसकेको स्थानीयको भनाइ छ ।
नगराइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम लाल कर्णले नगर अधिवेशनको लागि बोलाइएको कार्यपालिका बैठकमा १९ जना सदस्यमध्ये उपप्रमुखसहित १३ जनाको अनुपस्थित रहेकाले बजेट पेस गर्न नसकिएको बताउनुभयो । उहाँका अनुसार कार्यपालिका बैठक नै नबस्दा नगरसभामा बजेट पेस गर्न नसकिएको हो । त्यस्तै अन्य स्थानीय तहमा पनि प्रमुख तथा उपप्रमुखबीचको समन्वय अभाव, कार्यपालिका सदस्यको असहयोग र विभिन्न विकास योजना तथा बजेट शीर्षकमा मतभेदका कारण निर्धारित समयभित्र बजेट पेस हुन नसकेकोे बताइएको छ ।
केही स्थानीय तहमा राजनीतिक विवादका कारण निर्धारित समयमा बजेट पेस नहुनु गम्भीर समस्या भएको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका युवा रोहित खनालले बताउनुभयो । समयमै नीति, कार्यक्रम तथा बजेट नल्याउँदा सार्वजनिक सेवा प्रवाह, विकास आयोजना जस्ता महत्वपूर्ण काममा असर पर्न सक्ने उहाँको भनाइ छ ।
यता मिथिला बिहारी, बटेश्वर, मुखियापट्टी मुसहरनिया, जनकनन्दनी, विदेह र जनकपुरधाम नगरपालिकाले मङ्गलबार बजेट सार्वजनिक गरेका छन् भने लक्ष्मिनियाँ, धनुषाधाम, गणेशमान चारनाथ, सहिदनगर र धनौजी नगरपालिकाले भने त्यसअघि नै आफ्नो नीति, कार्यक्रम तथा बजेट पेस गरिसकेको छन् ।