
पवित्र जानकी जन्मोत्सवको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा औपचारिक कार्यक्रम शुरु भएको छ ।
जानकी मन्दिरले आयोजना गरेको कार्यक्रम अनुसार सोमबारदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मंगलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले जानकारी दिए । यसका साथै अखण्ड रामायण पाठ पनि नियमितरूपमा जारी रहनेछ ।
जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मंगलबार विहान ५ बजे जानकी मन्दिरबाट दुधमती नदीमा जानकीको शाही स्नान गरिनेछ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मंगलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यतालिकामा उल्लेख गरिएको छ ।
जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइनेछ । यसका साथै वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिनेछ । वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ । त्यसै दिन मानस मोहिनी संध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रमसमेत गरिने उत्तराधिकारी महन्त दासले बताए । जनकपुरधाममा जानकी जन्मोत्सव विशेष धूमधामका साथ मनाइँदै छ ।