
जनकपुरधाम - रौतहटमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका ३ गेडही टोल बस्ने ६० वर्षीय मोटरसाइकल चालक बलिराम सहनी र मोटरसाइकलमा पछाडि सवार छोरी ४० वर्षीया उर्मिला देवीको मृत्यु भएको हो ।
इप्रका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका ४ पश्चिम लचकामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
कार चालक हेटौंडा उपमहानगरपालिका १२ का ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको इप्रका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले जानकारी दिए ।