नेकपा एमाले धनुषाको निर्वाचनमा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक पनि उम्मेदवार रहस्य खुलेको छ । नेकपा एमाले धनुषाको ८ औँ जिल्ला अधिवेशन अन्तर्गत यही जेठ ७ गते हुन लागेको निर्वाचनमा एमालेका सक्रिय सदस्यसमेत रहेका सामुदायिक विद्यालयका शिक्षक दिपन ठाकुर पदाधिकारीको उम्मेदवार नै बनेको रहस्य खुलेको छ ।
जिल्ला कमिटीको सचिव पदमा सरकारी शिक्षक रहेका दिपन भनिने दिपनारायण ठाकुरले उम्मेदवारी दिएपछि उजुरीसमेत परेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवार ठाकुर मिथिला बिहारी नगरपालिका–५ स्थित निम्न माध्यमिक विद्यालय ललियामा कार्यरत छन् ।



राहत कोटामा शिक्षकको रुपमा उनी २०६६ असार २५ गतेदेखि कार्यरत रहेको जिल्ला शिक्षा समन्वय इकाई धनुषाले जनाएको छ । उनको उम्मेदवारीको विषयमा निर्वाचन समितिमा उजुरी पनि परेको छ । तर, निर्वाचन समितिले उनको उम्मेदवारीलाई सदर गर्दै उम्मेदवारको नामावली प्रकाशन गरेपछि उनका प्रतिद्वन्द्वीहरुले सो रहस्य उजागर गरेका छन् ।
यस अघि भएको अधिवेशनको क्रममा शिक्षकलाई उम्मेदवार बनाएको विषयमा विवाद पनि भएको थियो । विवादले उग्ररुप लिँदा भएको झडपको क्रममा निवर्तमान अध्यक्ष राजकिशोर यादवसहित आधा दर्जन नेता तथा कार्यकर्ता घाइते भएर निर्वाचनसमेत स्थगित भएको थियो । यता उम्मेदवार ठाकुरले आफू राहत शिक्षक रहेको स्वीकारेका छन् ।
जिल्ला शिक्षा समन्वय इकाई धनुषाका प्रमुख चेतकुमार पोखरेलले कानुनले नै शिक्षकलाई पार्टीमैत्री बनाएको प्रतिक्रिया दिए । एमाले धनुषाको अधिवेशनमा दुई समुहले उम्मेदवारी दर्ता गराएका छन् । ६ सय ५० प्रतिनिधिले एक सय ३५ सदस्य जिल्ला कमिटी छनोटका लागि मतदान गर्ने छन् ।




