जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीहरूमा कामप्रतिको प्रतिबद्धता कमजोर बन्दै गएको गुनासो गरेका छन् ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिँदै गरिएको विनियोजन विधेयकको प्रारम्भिक मस्यौदा तयार गर्ने सिलसिलामा आयोजित सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो टिप्पणी गरेका हुन् ।
बिहीबार भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा बोल्दै उनले पछिल्लो समय प्रदेश सरकारका मन्त्रालयहरूमा देखिएको ढिलासुस्ती र निष्क्रियताप्रति कडा असन्तोष जनाए ।
उनले भने, ‘हामी जनताको अपेक्षा पुरा गर्न संघर्षरत छौं । तर, कर्मचारीतन्त्रमा आवश्यक ऊर्जा र तत्परताको अभाव देखिएको छ । काम गर्ने मनसाय नै हराउँदै गएको छ ।’
मुख्यमन्त्री सिंहले प्रदेश सरकारले प्राथमिकता दिएका योजनाहरू कार्यान्वयनमा कमजोर प्रगति देखिएको र यसले सरकारको छविमा समेत आँच आउन थालेको उल्लेख गर्दै तत्काल सुधारको माग गरे । उनले कर्मचारीहरूलाई परिणाममुखी काम गर्न निर्देशन समेत दिए ।
कार्यक्रममा उपस्थित अर्थमन्त्री सुनिल यादवले भने समस्या व्यक्तिगत भन्दा पनि प्रक्रियागत रहेको तर्क प्रस्तुत गरे । उनले भने, ‘कार्यविधिका जटिलताले बजेट खर्चमा समस्या भएको हो । कर्मचारीहरू चाहेर पनि तत्काल निर्णय गर्न सक्ने अवस्थामा छैनन् ।’
उनका अनुसार कार्यविधि सरल र व्यावहारिक बनाउनुपर्ने आवश्यकता महसुस भएकाले अब सबै सचिवहरूबाट प्राप्त सुझावका आधारमा नयाँ कार्यविधि निर्माण गरिनेछ ।




