काठमाडौं – सर्वोच्च अदालतले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।
प्रसाईंको हकमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सुनुवाइ सकिएपछि न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मंगलबार (फागुन १९) उक्त आदेश दिएको हो ।



प्रसाईंका हकमा अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका थिए ।
प्रसाईं पछिल्लो समय फागुन १७ गते भक्तपुरबाट पक्राउ परेका थिए । उनीविरुद्ध निर्वाचन बिथोल्न खाजेको आरोप छ ।
सर्वोच्चले आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र लिखित जवाफसहित इजलासमा उपस्थित गराउन भनेको छ । उनलाई उपस्थित गराएपछि थुनामुक्त गर्ने वा नगर्ने विषयको टुंगो लाग्ने छ । प्रसाईं यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै गरेका थिए । उनले फागुन २१ गतेको चुनाव बहिष्कार घोषणा गरेका छन् ।






