बर्दिबास । महोत्तरीमा ट्राफिक प्रहरीले सडक सुरक्षा सप्ताह मनाउने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको आयोजनामा जेठ १८ गतेदेखि २४ गतेदेखि ‘सडक सुरक्षा सप्ताह’ मनाउने भएको हो ।
बुधवार जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले पत्रकार सम्मेलनको आयोजना गरीे ‘सडक सुरक्षा सप्ताह’को तयारीका विषयमा जानकारी गराएका छन् ।

जनचेतनामूलक र सहभागितामूलक कार्यक्रममा आधारित हुने ‘सडक सुरक्षा सप्ताह’को उद्घाटन जेठ १८ गते बिहान ७ बजे बर्दिवासमा हुने प्रहरी निरीक्षक जोशीले जनाए ।
उनका अनुसार सप्ताह कार्यक्रम अन्तर्गत जेठ १८ गते विद्यार्थी, स्थानीय जनप्रतिनिधि, पत्रकारहरू तथा नागरिकहरूको सहभागिता बर्दिवासमा प्रभातफेरी, १९ गते बर्दिवासमा यातायात व्यवसायी, मजदुर तथा विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम रहेको छ ।
१९ गतेकै दिन बिहान जलेश्वरमा सवारी दुर्घटना उद्धार अभ्यास पनि गराइने कार्यतालिका रहेको प्रहरी निरीक्षक जोशीले बताए । सो कार्यक्रममा रेडक्रस, स्थानीय तह, यातायात कार्यालय, बस–ट्रक व्यवसायी तथा युवासंघहरूको समन्वयमा कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे ।
यस्तै जेठ २० गते बर्दिवासमा सवारी साधनहरूको आन्तरिक परीक्षण, २१ गते रक्तदान कार्यक्रम, २२ गते सार्वजनिक सवारी चालकहरूको स्वास्थ्य परीक्षण र २३ गते मोटरसाइकल चालकहरूलाई लक्षित गर्दै हेल्मेट प्रयोगसम्बन्धी गौशालामा प्रशिक्षण कार्यक्रम राखिएको प्रहरी निरीक्षक जोशीले सुनाए ।
उनका अनुसार २३ गतेकै दिन सम्सीमा ट्राफिक सचेतनासम्बन्धी सडक नाटक प्रदर्शन गरिनेछ । सप्ताहको अन्तिम दिन जेठ २४ गते स्थानीय सञ्चारकर्मी तथा यातायात व्यवसायीहरूसँग अन्तक्र्रिया कार्यक्रम गरी ‘सडक सुरक्षा सप्ताह’को औपचारिक समापन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




