
जनकपुरधाम - महोत्तरीको बर्दिवासमा फेला परेको १० हजार बर्ष पुरानो हतियार कारखाना क्षेत्रमा पुरातात्विक अध्ययन सुरु गरिएको छ।
पुरातत्व विभागका विज्ञहरूको टोलीले अघिल्लो शनिबार देखि बर्दिबास नगरपालिका–३ स्थित पाटु, राई मण्डल क्षेत्रमा पुरातात्विक अध्ययन थालेको बर्दिवास नगरपालिकाका संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिका सदस्य सचिव दिपेश काफ्लेले जनाए।

प्राचीन मानव इतिहासमा प्रयोग भएका हतियार (ढुंगे औजारहरू) सो क्षेत्रमा रहेको तथ्य फेला परेसँगै उक्त क्षेत्रको महत्वलाई थप उजागर गर्न नगरपालिकाले अनुसन्धान शुरु गरेको संस्कृति तथा पर्यटन प्रबद्र्धन समितिका सदस्य सचिव काफ्लेले बताए ।
बर्दिबासमा पुरातात्विक पर्यटन प्रबद्र्धन गर्ने र ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले पुरातत्वविद् भास्कर ज्ञवाली र भारतको आसामबाट प्रो डा. मंजित हजारियाको नेतृत्वको टोलीलाई अध्ययन गर्न नगरपालिकाले समन्वय गरिरहेको काफ्लेले बताए ।

जर्मन अनुसन्धानकर्ता गुडन कार्विन्सले १९८० को दशकमा तराईका विभिन्न भूभागहरूमा मानव सभ्यताको अध्ययन गरी २००७ मा ‘प्रि हिस्टोरिक कल्चर्स इन नेपाल’ नामक किताब प्रकाशन गरेर महोत्तरीको पाटु राई मण्डल क्षेत्रलाई मध्य पाषण युगको हतियार निर्माण हुने स्थल भनेर चिनाएकी हुन् । कार्विन्सले उक्त किताबको भोलम १, पृष्ठ २३९ मा अहिलेको राइमन्डल अर्थात पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पुरानो भएको उल्लेख गरेकी छिन्।
रातो माटोले पुरिएको अवस्थामा हजारौँ मध्यपाषण युगका हतियारहरु भेटिएपछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमा उल्लेख गरेकी छन् ।

मध्यपाषण १२ देखि १२ हजार बर्ष अघिको अवधि र ६ देखि १० हजार वर्ष अघिको नवपाषणको अवधिलाई भनिन्छ । गुड्न कार्विन्सले गरेको अध्ययन अनुसार यो ठाउँ १० हजार वर्ष अघिको मध्य पाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ ।
कर्विन्स राइमन्डल आसपास र पाटुमा नै किन आएर अध्ययन गर्नुभयो होला भन्ने विषय अझै रहस्यमय छ ।
तर विख्यात भुगर्भविद कर्विन्सले गरेको अध्यणपछी सोही ठाउँमा पत्ता लगाईएको मध्यपाषण युगको हतियार कारखाना यतिवेला आम मानिसको चर्चा र कौतहुल वनेको छ ।

कर्विन्सले उक्त किताबमा रातु नदीसगैँ जोडिएको पाटु भन्ने ठाउँमा १० देखि १२ हजार बर्ष पहिला अर्थात मध्यपाषण युगमा मान्छेहरुको बाक्लो चहलपहल रहेको उल्लेख गरेकी छिन् ।
पुरातात्विक अध्ययन टोलीका पुरातत्वविद् भास्कर ज्ञवालीले बर्दिबास–३ स्थित पाटु, रातु र राई मण्डल क्षेत्रमा मध्य पाषण युगका ढुंगे औजारहरू संकलन तथा अध्ययन गरिरहेको बताउँदै उनले भने, “आज ८ दिन बित्यो अबको करिब २–४ दिन सो क्षेत्र र प्राप्त औजारहरूको अवलोकन, अध्ययन र अनुसन्धान गरिनेछ। धेरै अनुसन्धानकर्ताहरूले उक्त क्षेत्रको अध्ययन अनुसन्धान गरी प्रतिवेदन, किताब प्रकाशन गरिसकेका र उक्त क्षेत्रका ढुंगे औजारहरू पुरातत्व विभागको प्रदर्शनीमा समेत राखिएकाले उक्त क्षेत्रको थप विस्तृत अध्ययन थालिएको हो।“

अध्ययन टोलीमा संलग्न पुरातत्व शाखा प्रमुख भाष्कर ज्ञवाली तथा भारतको आसामस्थित कटन विश्वविद्यालय पुरातषव विभागका विज्ञ मन्जिल हजारिकाले अध्ययन गरिएका करिब १० वर्ग किलोमिटर क्षेत्रमा अहिलेसम्म आदि मानवले प्रयोगमा ल्याएका सात प्रकारका हतियार सङ्ग्रह गरिएको बताए । सङ्कलित हतियार कठोर प्रजातिका क्वार्टजाइट पत्थरबाट बनेकोे उनले देखाए ।

टोलीले सङ्ग्रह गरिएका हतियारमा सिकार काट्ने र तिनका हड्डी फोड्ने ‘युनिफेसियल चोपर्स, मासु टुक्रा पार्ने ‘नाइभ्स’, पशुको छाला ताछ्ने ‘स्व्रपरस’, काठ र बाँस काट्ने हतियार ‘एडजेस’, माटोमुनिका कन्दमूललगायतका आहार खोस्रिने ‘पोइन्टस’, चुलेसीको काम लिने हतियार ‘नोच’ जस्ता हतियार सङ्ग्रह गरिएको बताए ।
सङ्ग्रह भएकामध्ये ‘सुमात्रालिथ’ हतियार भने इन्डोनेसियाको जावा सुमात्रामा पाइएको प्राचीन हतियारसँग मिल्दोजुल्दो रहेको प्रोफेसर हजारिकाले बताए ।
उनको अनुसार सङ्ग्रह गरिएका हतियार १० हजारदेखि आठ हजार इसापूर्वमध्ये पाषाण मेसोलिथिक युगको हो ।
प्रोफेसर हजारिकाले भने, “सङ्कलित हतियार अनुमानित सात हजार वर्ष पुरानो हुनु पर्छ । अध्ययन गर्दै जाँदा अझ पुरानो पनि हुन सक्छ ।”

यी हतियार रातुखोला पश्चिम, भवसीखोला पूर्व, राइमण्डल डाँडा उत्तर र गौरीडाँडा आसपासदेखि उत्तरमा रहेको करिब १० वर्ग किलोमिटर क्षेत्रबाट सङ्ग्रह गरिएको अध्ययन टोलीको नेतृत्व गरिरहेका पुरातषव विभाग प्रमुख भाष्कर ज्ञवालीले बताए।
उनले भने, “अहिलेसम्म यी क्षेत्रका १८ ठाउँबाट १० बोरा जति प्राचीन हतियार सङ्कलन गरिसकेका छौँ । अझै दुई ठाँउको अध्ययन बाँकी छ ।”

पहिलो पटक यस भेगमा आउनुभएका प्रोफेसर हजारिकाका लागि त यो क्षेत्र नै बहुमूल्य प्राचीन सभ्यताको धरोहर हो । आफूले विगत १५ वर्षको अवधिमा भारतदेखि अफ्रिका र युरोपका क्षेत्रमा पुगेर पुरातात्वक अध्ययन गरे पनि पाषाण युगका हतियारको यति ठुलो भण्डार र विविधता यसअघि फेला नपारेको बताए।
उनले २० वटै साइडको अन्वेषण सकिएपछि सङ्कलित हतियारलाई प्रशोधन, वर्गीकरण, नक्साङ्कन र फोटोग्राफीलगायतका प्रक्रिया पूरा गरी यसै वर्षको अन्त्यसम्ममा बर्दीबास नगरपालिका र पुरातत्त्व विभागलाई प्रतिवेदन बुझाइने ज्ञवालीले बताए ।
मध्यपाषण युग १० देखि १२ हजार बर्ष पहिलाको मानिन्छ । अहिलेको पाटु गाउँ वि.स. २०२० को दशकमा वस्ती बसेको थियो । कर्विन्सले तथ्यसहित १२ हजार बर्ष पुरानो मानव सभ्यता भएको उजागार गरेपछी स्थानियहरु समेत अचम्मित वनेका छन ।

“बन्चरो जस्ता ढुंगा, धारिलो अनौठा ढुंगाहरु जंगल जादा भेटिन्थ्यो ।संचार माध्यमवाट पाटु १२ हजार बर्ष पुरानो सभ्यता भएको थाहा पाएपछि हामीले त्यस्ता आकृतिका ढुंगाहरुको खोजी गरिरहेका छौ ।” स्थानिय रमेश पौडेलले भने, ’यो भुमी पुरातात्त्िवक पर्यटनका हिसावले उर्वर रहेछ ।”
पुरात्तात्विक हिसावले निक्कै रहस्यमय भएको यस ठाउँमा बरु उद्योग बाणिज्य संघ बर्दिवासले निक्कै चासो देखाएको छ ।
पुरात्तात्विक पर्यटकिय गन्तव्यकोरुपमा विकास गर्न संघका अध्यक्ष बिष्णु खडकाको नेतृत्वमा तत्कालिन पर्यटन मन्त्री सुदन किराँतीलाई प्रतिवेदन समेत वुझाईएको थियो । फलस्वरूप संघिय सरकार र प्रदेश सरकारले झण्डै ४६ लाख वजेट विनियोजन गरेको छ ।

मध्यपाषण युगको हतियार कारखाना जुन वेला मानिसहरुले ढुंगाका हतियार बनाउथे । सोही हतियारहरु कर्विन्सले रातो माटोभित्र हजारौ संख्यामा रहेको पत्ता लगाए।
तत्कालिन समयमा हतियार कारखानाकोरुपमा नै प्रयोग भएको उक्त ठाउँमा ठुलो संख्यामा मानिसहरुको बसोबास मात्र हैन अन्यत्रवाट पाटुमा नै केन्द्रित हुने गरेको कर्विन्सको अध्ययणमा उल्लेख छ ।
“उनले पत्ता लगाउनुभएको केही हतियारहरु हामीले पुरातात्त्िवक विभागमा समेत गएर अवोलोकन गर्यौ ।” अध्यक्ष खडकाले भने, “वास्तवमा नै यो ठाउँलाई विश्वको नै ठूलो अध्यण केन्द्र वनाउन सकिने आधारहरु देखिएका छन ।”
नेपालमा नै पहिलोपटक ठूलो पुरातात्विक पर्यटकिय केन्द्र बन्न सक्छ : पुरातात्विकविद
संचार माध्यमवाट निरन्तर समाचार आएपछि देशैभरीका पुरातात्विकविद्वहरुले पाटुको मध्यपाषण युगको हतियार कारखानाको विषयमा चासो व्यक्त गरेका छन ।
“बर्दिवासमा देखिएको चासोले यो ठाउँ विश्व कै पुरातातिवक पर्यटन केन्द्र वन्न सक्ने महत्वपूर्ण आधारहरु देखिएको छ ।” भुगर्भविद्व प्रकाश दर्नालले भने, “संघ र प्रदेशले उक्त ठाउँको विकासको लागि बजेट विनियोजन गरेको सुनेको छु । गुरुयोजना वनाएर काम गर्नुपर्छ ।”

कर्विन्सले पत्ता लगाएको उक्त अवशेषहरुलाई अहिले राष्ट्रिय संग्रहालयमा राखिएको छ । कितावमा रातो माटोमुनि हजारौ, करोडौ संख्यामा ३० देखि ५० सेन्टिमिटर पुरिएको अवस्थामा रहेको किताबमा उल्लेख गरिएको छ।
यी सवै सम्पदाहरुलाई संरक्षण गर्न र ऐतिहासिक पर्यटकिय केन्द्रकोरुपमा विकास गर्न सरकारले देखाएको तत्परताले उत्साहित वनाएको अर्का पुरातात्विकविद्व सोमनाथ सापकोटा वताउँछन्।
“पाटुको विषयमा थुप्रै गौरवपुर्ण इतिहास हामीले पत्ता लगाएका छौ । स्थानिय सरकारले यसमा विशेष चासो देखाउनुपर्छ ।” सापकोटाले भने, “कर्विन्सले पत्ता लगाएको मध्यपाषण युगको हतियारको राजधानी, सर्पहरुको राजधानी, वि.स. १२१८ को शक्तिशाली भुकम्पका विषयमा यहाँ थुप्रै रहस्यहरु छन ।”
वि.स. १२१८ को शक्तिशाली भुकम्पले वनाएको पहाड
नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ ।
वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ ।
यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । भूकम्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभाव पारेको थियो ।
इतिहासकारहरुको अनुसार तत्कालिन समयमा समथर र केही माथी उठेका चुरे पहाडहरु झन माथी उठेको वताईन्छ ।
त्यसैमध्ये भुकम्पको प्रभाव कै कारण सवैभन्दा ठूलो पहाड वनेको पनि पाटुको उपल्लो क्षेत्र अर्थात राईमण्डलको वरपर नै रहेको बताइन्छ।

झण्डै ८ सय बर्ष पुरानो जिवित इतिहासलाई भुकम्पको कारण माथि उठेको यसै ठाउँको एउटा टापु प्रमाणकोरुपमा उभिएको भुगर्भविदहरु बताउछन् ।
भुगर्भविद्व सोमनाथ सापकोटाका अनुसार पिएचडीका विद्यार्थीहरुले पाटुमा नै थुप्रै अध्यण र अनुसन्धान गरेर जर्नलहरु प्रकाशित गरेका छन्।
कर्विन्सले फेला पारेको मध्यपाषण युगको सभ्यतासगैँ देखिएको ऐतिहासिक चुरे पहाडलाई एकीकृत पुरात्तात्विक पर्यटन केन्द्रकोरुपमा विकास गर्न सकिने सापकोटा वताउँछन् ।
स्थानीय सरकारले यसको व्यवस्थापन र प्रचारमा आगामी दिनमा काम गर्न सुरु गरिसकेको बर्दिवास नगरपालिका मेयर प्रहलाद कुमार क्षेत्रीले बताए ।उनले राइमण्डल यस वरिपरिका क्षेत्र बर्दिवास नगरपालिकाको समृद्धिको आधार बन्न सक्ने विश्वास व्यक्त गरे ।

बर्दिवास नगरपालिकाको समथर भूभाग छाडेर झन्डै ७ किलोमिटर उकालो हिडेपछि पुगिन्छ राइमन्डल । यही राईमन्डलमा रहेका भिमडाडा र सोली घोप्टे पहाडका टाकुरा छन्, जसले हरबखत मधेशका समथर भूमि नियालिरहेको जस्तो भान हुन्छ ।
समुन्द्री सतहवाट झण्डै ३६२ मिटर अग्ला यी पहाडहरु तराइका गहना हुन भने बर्दिवासको समृद्धिका आधार पनि । पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाइमा रहेका यी डाँडाहरु जति मनोरम छन् त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन् ।
स्थानीयका अनुसार शान्ति र अध्यातिमक लाभका लागि अध्यात्मिक व्यक्तिहरु यहाँ आएर तपस्यासमेत गर्ने गरेका छन् ।
पुरातात्विक पर्यटन स्थलको रुपमा विकास गरिने
प्रचारप्रसारको अभावमा ओझेलमा रहेको यी डाडाहरु मधेशका प्राकृतिक भ्यू टावर समेत मानिन्छ । स्थानीय युवा विजय पोखरेलले यी डाडामा उक्लिएपछि भारतको सिमानादेखि जनकपुर सहर समेत दृश्यावोलकन गर्न सकिने वताए।
बर्दिवास नगर क्षेत्रमा रिसोर्ट देखि ७० भन्दा बढी होटलहरु छन् । निक्कै ठूलो लगानीका होटलहरु धरासयी बन्दा व्यापारीहरुमा चिन्ता बढदै गएको बेला पुरातात्विक पर्यटन स्थलको रुपमा यस ठाउँलाई विकास गर्न सके पर्यटन भित्र्याउने ठूलो सम्भावना व्यक्त गरिएको छ।
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्की बर्दिवासमा भएका प्राकृतिक दृश्य र यसको व्यवस्थापन गर्न नसक्दा पर्यटकहरु एकदिन पनि बर्दिवास क्षेत्रमा टिक्न नसकिरहेको बताउँछन्। उनले प्राकृतिक छट्टाले अनेकौ तरहले सिगारिएको महोत्तरीको उत्तरवर्ती क्षेत्र राइमन्डलको यो मनमोहक दृश्यावलोकनको लागि व्यवस्था मिलाउन सकिए पर्यटक लोभ्याउन सजिलो हुने बताए।
होटेल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले जीवनको खोजमा घुमन्ते जीवन बिताइरहेका आदि मानव बर्दीबास क्षेत्रमा कसरी आइपुगे अर्को अध्ययनको विषय हुन सक्ला । तथापि सभ्यताको विकास र आधुनिक मानवको उद्भवमा यहाँका आदिम हतियारले विश्वको ध्यान खिच्न सक्ने भएकोले पर्यटक लोभ्याउने ठूलो सम्भावना रहेको बताए ।
प्रचार प्रसार गर्न सके महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिवासको समृद्धिको मुख्य आधार बन्ने पक्का छ । राइमन्डलका अग्ला डाडाहरुमा जिपलाइनका सम्भावना र कर्विन्सले भनेको यसको फेदीमा थप खोजी गरी नविन पर्यटकीय गन्तव्य वनाउन सकिने आधारहरु देखिएका छन् ।
स्थानीय सरकारले यसको व्यवस्थापन र प्रचारमा काम थालिसकेकोले राइमण्डल बर्दिवास नगरपालिकाको समृद्धिको आधार बन्ने विश्वास स्थानीयको छ ।
चराचुरुंगी तथा पर्यापर्यटन विकास उपसमितिका संयोजक विशाल बस्नेतले यस अध्ययन टोलीले अध्ययन पश्चात नगरपालिकालाई बुझाएको प्रतिवेदन अनुसार राइमण्डल, रातमाटे वरिपरिका क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर पुरातात्विक पर्यटन स्थलको रुपमा विकास गर्ने बताए ।