जनकपुरधाम-मधेश प्रदेशमा शैक्षिक पूर्वाधार र सामुदायिक कल्याण अभिवृद्धि गर्ने उद्देश्यले नेपालस्थित चिनियाँ दूतावासको आर्थिक सहयोग तथा सीएवाईपी को साझेदारीमा दुई महत्वपूर्ण परियोजना हस्तान्तरण गरिएको छ ।
‘भविष्य उज्यालो बनाउने’ नामक शिक्षा परियोजना अन्तर्गत दुईवटा सामुदायिक विद्यालयलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको छ भने ‘आरामदायी सुत्केरी अभियान’ परियोजना मधेश प्रादेशिक अस्पताल जनकपुरलाई हस्तान्तरण गरिएको हो।
जनकपुरधामको सरस्वती माध्यमिक विद्यालयमा आयोजित विशेष समारोहमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले शिक्षा परियोजनाको उद्घाटन गरे ।
सरस्वती र कनकपट्टी मावि गरि दुई सामुदायिक विद्यालयलाई १४४ सेट डेस्क–बेंच, स्मार्टबोर्ड, ह्वाइटबोर्ड, स्टेशनरी सामग्री तथा ६०२ सेट विद्यार्थी पोशाक वितरण गरिएको परियोजना प्रबन्धक शिवाङ्ग दत्तले जानकारी दिए ।
‘भविष्य उज्यालो बनाउने’ परियोजनाले मधेश प्रदेशका सामुदायिक विद्यालयहरूमा पठन–पाठनको गुणस्तर सुधार गर्ने, शिक्षण वातावरण समृद्ध बनाउने र संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य अनुरूप समावेशी तथा समान शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य राखेको परियोजनाको छ ।
यस्तै आरामदायी सुत्केरी अभियान’ परियोजनाअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरमा सुत्केरी कक्षमा वातानुकूलन प्रणाली एसी जडान गरिनेछ ।
अस्पतालको सेवामा गुणस्तर वृद्धिसँगै सुत्केरी महिलाहरूका लागि सुरक्षित र सुविधा सम्पन्न वातावरण तयार पारिने प्रबन्धक दत्तले बताए ।
उक्त परियोजनाको उद्घाटन मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले गरे।
नेपालका लागि चिनियाँ राजदूत सु जोउ झीच्याङले स्थानीय सरकार र समुदायले देखाएको विश्वासप्रति आभार प्रकट गर्दै यस्ता परियोजनाले ग्रामीण भेगमा गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा तथा सुरक्षित खानेपानीको पहुँच विस्तारमा टेवा पुर्याउने विश्वास व्यक्त गरिन्।




