
महोत्तरी - जलेश्वर उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट स्थानीय व्यवसायी तथा सर्वसाधारणले प्रत्यक्ष लाभ लिएका छन्।
उद्योग वाणिज्य संघ जलेश्वरको सभाहलमा आयोजित शिविरमा २२५ जनाले आँखा परीक्षण गराउँदा ४२ जनामा मोतियाविन्दु र ५ जनामा आँखाको गम्भीर रोग ग्लुकोमा पत्ता लागेको हो। रोग पत्ता लागेकामध्ये मोतियाविन्दु भएका बिरामीको जलेश्वरमै निःशुल्क शल्यक्रिया गरिएको संघले जानकारी दिएको छ।

शिविर सगरमाथा चौधरी आँखा अस्पताल, लहान र रेडक्रस सोसाइटी महोत्तरीद्वारा सञ्चालित आँखा अस्पताल जलेश्वरको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। संघका अध्यक्ष शिवचन्द्र चौधरीका अनुसार, स्थानीय व्यापारीहरू व्यापार व्यस्तताका कारण आँखा परीक्षणमा हेलचक्राइ गर्ने प्रवृत्ति देखिएकोले उनीहरूका लागि सहज र पहुँचयुक्त सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो।

“व्यापारी मात्र होइन, सर्वसाधारणसमेतले प्रत्यक्ष लाभ लिएकाले संघको यो प्रयास सफल रह्यो,” अध्यक्ष चौधरीले भन्नुभयो। शिविरमा निःशुल्क आँखा परीक्षण, न्यूनतम शुल्कमा औषधि र चस्मा वितरण, साथै जटिल बिरामीको शल्यक्रिया सुविधा समेत उपलब्ध थियो। शिविरमा परीक्षण गराउनेहरूमध्ये अधिकांशमा धुलो, मधुमेह र नियमित परीक्षणको अभावले गर्दा आँखा समस्याहरू देखिएको डा. रजनिश झाले जानकारी दिनुभयो। उहाँले सबैलाई वर्षमा एकपटक आँखा परीक्षण गराउन सुझाव दिनुभयो।

व्यवसायीको उत्थान सँगै सामाजिक उत्तरदायित्व अन्तर्गत अध्यक्ष चौधरीले जलेश्वर महादेव मन्दिरको प्रवर्द्धन, भिठामोड नाका विकास, र प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि संघले निरन्तर पहल गर्दै आएको र आगामी दिनका लागि समेत सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यो पनि पढ्नुहोस : - उद्योग वाणिज्य संघद्वारा निःशुल्क आँखा जाँच शिविर,व्यापारी र सर्वसाधारण लाभान्वित हुने
