नवलपरासी - किसान चैते धानको उचित मूल्य नपाउँदा निराश भएका छन् ।
मध्यविन्दु नगरपालिका-२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्टल धान उत्पादन गरे तर प्रतिक्विन्टल मात्र रु. दुई हजार २०० मात्र पाउँदा उनी खिन्न भएका छन् । गत वर्ष रु. तीन हजारभन्दा अधिक मोलमा उनीले एक क्विन्टल धान बेचेका थिए ।
बुद्ध भूमि कृषक समूहका संयोजकसमेत रहेका किसान आलेले धानको उचित मूल्य नपाउँदा समूहमा खेती गरेका सबै किसान निराश भएको बताउँछन्। यो समूहले पाँच बिघामा चैते धान रोपेको थियो । उचित मूल्य नपाएका उनीहरूले घरमा नै धान थन्क्याएका उनले बताए।
गैँडाकोटका किसान मानबहादुर थारुले रु. दुई हजार २०० प्रतिक्विन्टलका दरले धान बेचेको बताए । हालको बजार मूल्यबाट आफ्नो लगानी पनि नउठेको उनको दुखेसो छ ।
सरकारले चैते धानको समर्थन मूल्य दुई हजार ८७९ तोकेको कृषि ज्ञान केन्द्रका प्रमुख कूलप्रसाद तिवारीले बताए । भारतबाट धान आयात भएकाले किसानले उचित मूल्य नपाएका हुनसक्ने उनले बताए । यो वर्ष नवलपुरमा एक हजार १०० हेक्टरमा चैत धान रोपिएको थियो ।




