
सर्लाही - “छोरीहरू स्कुल जान साइकल चढ्न थालिसके, अब रोक्ने को?”
बलरा नगरपालिकामा भएको एउटा सानो देखिने कामले मधेशको गहिरो सामाजिक चेतनामा ठूलो तरंग ल्याएको छ। कक्षा ११ मा अध्ययनरत ५५ जना छात्राहरूले आज हातमा साइकलको साँचो समाउँदै शिक्षा र आत्मनिर्भरता तर्फको नयाँ यात्रा थालेका छन्।
बलरा नगरपालिका–८ मा रहेको जनता नमूना माध्यमिक विद्यालयका ३७ र वडा नम्बर ११ को सुधा राजेश्वर माध्यमिक विद्यालयका १८ छात्रालाई आज नगरपालिकाले निशुल्क साइकल वितरण ग¥यो। यो कुनै सामान्य वितरण कार्यक्रम होइन — यो छोरीलाई विद्यालय पठाउनु पर्छ भन्ने अभिभावकको मनमा विश्वास जगाउने अभियान हो।
बलरा नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाका अनुसार, “हाम्रो समाजमा अझै छोरीहरूलाई कक्षा १० पछाडि पढाउन हिच्किचाउने प्रवृत्ति छ। हामीले सोचेका थियौँ— यदि यातायातको सहजता दिलायौं भने, धेरै अभिभावकले छोरीको पढाइ नछाड्लान्। आज त्यो सपना केही हदसम्म पूरा भएको देख्दा हामीलाई गर्व लाग्छ।”
मधेशका ग्रामीण बस्तीहरूमा छोरीहरूलाई स्कूल पठाउन अनेकौं चुनौती हुन्छन् — घरको टाढा विद्यालय, सुरक्षा चिन्ता, आर्थिक अवस्था र सामाजिक वर्जना। यी सबै कारणले गर्दा धेरै किशोरीहरूको पढाइ कक्षा १० पछि अन्त्य हुने गरेको छ। तर बलराले देखाएको यो पहलले स्पष्ट सन्देश दिएको छः ‘सहजता भए परिवर्तन सम्भव छ।’
जनतामा कक्षा ११ मा भर्ना भएकी १६ वर्षीया एक छात्रा भन्छिन्, “पहिले हिँडेरै आउँदा ढिला हुन्थ्यो, थकाइ लाग्थ्यो। अब साइकल छ, पढ्न मन लाग्छ। समय बचेको छ, घरको काममा पनि सहयोग गर्न सकिन्छ।”
नगरपालिकाले यो योजना केवल एकपटकको कार्यक्रमका रूपमा होइन, नीतिगत अभियानका रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ। आगामी वर्षहरूमा अझ धेरै छात्राहरूलाई समेट्ने योजना छ।
यो अभियानले मधेशको गाउँघरमा शिक्षाको ढोका खोल्नुका साथै, छोरीलाई भरोसा दिने,आत्मनिर्भर बनाउने र उसलाई विद्यालयमा टिकाइ राख्ने दृढ प्रयासको उदाहरण बनेको छ।