
धरान, सुनसरी - आज श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, ज्ञानचक्षु मार्ग, धरान–१५ मा मधुमेह तथा स्वास्थ्य परीक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रम डा. अरुण कुमार सिंहको संयोजनमा आयोजना गरिएको थियो भने कार्यक्रम निर्देशक मो. असरारुल अंसारी तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) धरानको Diabetes Students Wing को विशेष सहयोग रहेको थियो।
दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन भएको कार्यक्रममा ८० भन्दा बढी बालबालिकाहरूले मधुमेह तथा स्वास्थ्य परीक्षण गराएका थिए। तीमध्ये केही बालबालिकाको ब्लड सुगर १३० mg/dl भन्दा बढी पाइएकोले BPKIHS को बाल रोग विभागको OPD मा थप परीक्षणको लागि सिफारिस गरिएको छ।

कार्यक्रमकी प्रमुख अतिथि श्रीमती सिर्जना सुवेदीले आफ्नो मन्तव्यमा यस्ता स्वास्थ्य शिविरहरूको निरन्तरता आवश्यक रहेको र यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले सम्पूर्ण टिमलाई धन्यवाद र शुभकामना व्यक्त गर्नुभयो।
डा. अरुण कुमार सिंह, एसोसिएट प्रोफेसर, बाल रोग विभाग, BPKIHS धरानले Type 1 Diabetes सम्बन्धी जनचेतना फैलाउन भविष्यमा धरान तथा वरपरका क्षेत्रमा घर–घरमा मधुमेह स्क्रिनिङ अभियान सञ्चालन गरिने जानकारी दिनुभयो।
त्यसैगरी, कार्यक्रम निर्देशक मो. असरारुल अंसारीले मधुमेह नियन्त्रणमा सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैली को महत्वबारे प्रकाश पार्नुभयो।
BPKIHS को Diabetes Students Wing ले देखाएको समर्पण, सक्रियता र निरन्तरता साँच्चिकै प्रशंसनीय छ।