
महोत्तरी - असार शुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन् । असार सङ्क्रान्तिका दिनदेखि पानी पर्न थालेसँगै महोत्तरीमा सर्पदंशका घटना बढेका हुन् ।
असार पहिलो साताभित्र २५ जना सर्पदंशका बिरामी उपचार लिन आएका सर्पदंश उपचार केन्द्र बर्दिबासले जनाएको छ । पानी पर्न थालेपछि तराईका जिल्लामा सर्पदंशका घटना बढ्ने गरेका केन्द्रमार्फत नेपाली सेनाको उपचार टोलीले बताएका छन् ।
सामान्यतया साउनमा बढी पानी पर्ने भएकाले सर्पदंशका घटना साउनमा बढी हुँदै आएका केन्द्रले जनाएको छ । वर्षा र बढी गर्मीका कारण पनि सर्प दुलोबाट बाहिर निस्कने भएकाले वैशाखदेखि आवश्यक सतर्कता अपनाउन केन्द्रले सबैलाई आग्रह गरेको छ ।
विसं २०७१ साउन ३१ गते सञ्चालनमा आएको केन्द्रले हालसम्म ३१ हजार ३०७ जनालाई उपचार दिएको छ । यस वर्षको वैशाखदेखि एक सय ६० जनाले उपचार लिएका केन्द्रको तथ्याङ्कमा उल्लेख छ । वैशाखमा ५२ र जेठमा ८५ घटना भएकामध्ये ६५ वटा विषालु सर्पले डसेका केन्द्रले जनाएको छ ।
सामुदायिक पहलकदमीमा स्थापना भई केन्द्रमा सेनाले उपचार गर्न तालिम प्राप्त छ जना दक्ष प्राविधिक जनशक्ति उपलब्ध गराएको छ । सर्पको उपचारमा प्रयोग गरिने ‘एन्टी स्नेक भाइल’ र कार्यालय सञ्चालनको व्यवस्थापन केन्द्रको सञ्चालक बोर्डले तथा उपचार नेपाली सेनाका तालिम प्राप्त दक्ष प्राविधिकले गर्दै आएका छन् ।