
बागमती - सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा आइतबार बिहान सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।
करेसाबारीमा फर्सीको मुन्टा टिप्न जाँदा गोमन सर्पले डसेर ३६ वर्षीया मुना राईको मृत्यु भएको हो । राईलाई नवलपुर सर्पदंश उपचार केन्द्रमा १० भाइल एन्टीस्नेक भेनम चलाएर थप उपचारका लागि जनकपुर लगिए पनि चिकित्सकले मृत घोषणा गरेका परिवारले जनाएको छ ।
नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले महिलालाई चिन्ताजनक अवस्थामा ल्याइएकाले यहाँ उपचार सम्भव नभएपछि जनकपुर रेफर गरिएको बताए । आइतबार बिहान ६ बजे राईलाई सर्पले डसको र ७ बजेतिर मात्रै नवलपुर सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
नवलपुर सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीलाई समयमै ल्याउँदा एन्टीस्नेक भेनम चलाएर उपचार गर्ने गरिए पनि गम्भीर अवस्थाका बिरामीलाई जनकपुर, वीरगन्ज वा भारततर्फ रेफर गर्ने गरिएको छ ।
दक्ष चिकित्सकको अभावमा उपचार केन्द्रको आईसीयू र भेन्टिलेटर यहाँ थन्काएर राखिएको छ । जसका कारण बिरामीलाई अन्यत्र रिफर गरिने गरिएको छ ।