
बर्दिवास- मध्यरातमा भएको होटल छापामारी र त्यस विषयमा आएका समाचारप्रति महोत्तरीका मानवअधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् । महोत्तरी जिल्लामा कार्यरत् ६ वटा मानवअधिकारका क्षेत्रमा कार्यरत् संघसंस्थाले यस विषयमा चासो राख्दै आइतबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
महिला मनावअधिकार रक्षक सञ्जाल महोत्तरी, इन्सेक महोत्तरी, महिला सचेतना केन्द्र महोत्तरी, चौतारी नेपाल महोत्तरी, जिल्ला महिला सञ्जाल महोत्तरी र लोककल्याण परियोजना महोत्तरीको संयुक्त हस्ताक्षरमा आइतबार जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रेस काउन्सिल नेपालमा छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा होटल छापामारी प्रकरण र त्यस विषयमा ‘टकनेपालटिभी डट कम’ नामक अनलाइनमा ललन मण्डल र अनुराग यादवको बाइलाईनमा संप्रेशित समाचारले नेपालको संविधानको भाग ३ को मौलिक हक सम्वन्धि धारा १६, १७ र २८ को उल्लंघन भएको उल्लेख गरिएको छ ।
‘धारा १६. सम्मानपूर्वक बाँच्न पाउने हक ः (१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ ।’ उल्लेख छ भने धारा ‘१७. स्वतन्त्रताको हक ः (१) कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन ।’ यसै धाराको उपधारा (च) मा नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता ।’ को ग्यारेन्टी गरिएको छ । धारा २८ मा भने ‘गोपनीयताको हक ः कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानून बमोजिम बाहेक अनतिक्रम्य हुनेछ ।’ भन्ने उल्लेख छ ।
होटल छापामारी प्रकरण र त्यससंग जोडिएर आएका टकनेपालटिभी डट कममा प्रकाशित समाचारले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, वैयक्तिक स्वतन्त्रता र गोपनीयताको हकलाई खण्डित गरेको ध्यानाकर्षणपत्रमा बताइएको छ । सो पत्रमा यस किसिमका हरकतले व्यक्तिको मानसिक तथा समाजिक जीवनमा पर्ने आघातबाट हुने क्षतीको संम्वन्धित पक्षले नै जिम्मेवारी लिनु पर्ने उल्लेख गरिएको छ ।


पेन नेपाल