
महोत्तरी — महोत्तरी ।औरही नगरपालिका–८ टिम्कियास्थित बर्दिवास-जलेश्वर सडकखण्डमा आइतबार साँझ टिफरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्र भट्टका अनुसार टिफरको ठक्करबाट लोहरपट्टी नगरपालिका १ बगरा बस्ने १७ वर्षीय नितिश भगतको मृत्यु भएको छ। त्यसै गरि दुर्घटनामा जनकपुर उपमहानगरपालिका ४ बिश्वकर्मा चौक बस्ने ३० वर्षीय रुपेश भगत भने गम्भीर घाइते भएका छन्।
दुर्घटना आइतबार राति करिब ७ बजे भएको हो। उत्तरबाट दक्षिणतर्फ गइरहेको प्र.२-०३-००१ क १३९१ नम्बरको टिफरले सोही दिशामा जाँदै गरेको ज ११ प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका दुवै जनालाई तत्काल बर्दिवास अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकले नितिश भगतलाई मृत घोषणा गरेका थिए भने रुपेश भगतको उपचार बर्दिवास अस्पतालमा सम्भव नभए पछि थप उपचारको लागी जनकपुरको न्युरो हस्पिटलमा रेफर गरिएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले करिब एक घण्टा सडक अवरुद्ध गरेका थिए।घटनामा संलग्न टिफरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक प्रहरीको नियन्त्रणमा रहेको छ।चालक कमलामाई नगरपालिका १२ बस्ने सन्तलाल माझी रहेको छ,जिल्ला प्रहरीका नायव निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिएको छ।