
जनकपुरधाम- असार १५ बितिसक्दा पनि मधेश प्रदेशमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । वर्षा अभावका कारण खेतमा पानी नजाँदा धान रोप्न नपाएको भन्दै किसानहरू चिन्तामा परेका छन् ।
मधेश प्रदेशका कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार असार १५ सम्म आइपुग्दा प्रदेशभर जम्मा ३.९ प्रतिशत मात्रै रोपाइँ भएको छ । सबैभन्दा बढी बारा जिल्लामा १५ प्रतिशत, सिरहा र सप्तरीमा जम्मा ५ प्रतिशत मात्र रोपाइँ भएको हो ।
प्रदेशका आठ जिल्लामा ३ लाख ५३ हजार ४ सय ४१ हेक्टर क्षेत्रमा धान खेती हुँदै आएको छ । तर, किसान अझै आकाशे पानीमै निर्भर रहेकाले समयमै वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह भन्छन्, ‘धान उत्पादन बढाउन सिँचाइ, उन्नत बीउ, मलको सहज पहुँच आवश्यक छ । यस्ता पूर्वाधार समयमै पुगे भने मधेश फेरि अन्न निर्यात गर्नसक्छ ।’
शहीदनगर नगरपालिकाका किसान ब्रम्ह्देव यादवका अनुसार, ‘तीन महिना सिँचाइ सुविधा उपलब्ध भए धान उत्पादनमा कुनै समस्या हुँदैन । तर, अहिले किसानको खेत सुक्खा छन् ।’
धान खेतीका हिसाबले धनुषा सबैभन्दा अगाडि रहेको छ । यहाँ ५४ हजार ८ सय ८० हेक्टरमा धान खेती हुने गर्छ । त्यसपछि सप्तरीमा ५० हजार २ सय २५ हेक्टर र सबैभन्दा कम महोत्तरीमा ३३ हजार ६ सय ९६ हेक्टर क्षेत्रफलमा धान रोपिन्छ ।
देशव्यापी रूपमा हेर्दा पनि अवस्था उत्साहजनक छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १३ लाख ९१ हजार ३ सय २१ हेक्टर खेतीयोग्य जमिनमध्ये हालसम्म २०.३ प्रतिशत (२ लाख ८१ हजार ८ सय ४ हेक्टर) मा मात्र रोपाइँ सम्पन्न भएको छ । यो गतवर्षको यसै अवधिको २१.३ प्रतिशत तुलनामा एक प्रतिशत कम हो ।
प्रदेशगत विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा ४९.२ प्रतिशत, कर्णालीमा ३९.१ प्रतिशत, गण्डकीमा २८.२ प्रतिशत, लुम्बिनीमा २४.३ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, कोशीमा १४.३ प्रतिशत र मधेशमा सबैभन्दा कम ३.९ प्रतिशत हेक्टरमा धान रोपाइँ भएको छ ।
कृषि विज्ञहरूले जलवायु परिवर्तन, सिँचाइ अभाव, मल र बीउको ढिलाइ तथा नीति कार्यान्वयनमा कमजोरीलाई मुख्य कारण मानेका छन् । यस वर्षको धान उत्पादनमा असर पर्ने देखिएपछि सरकारलाई समयमै राहत र विकल्पको योजना ल्याउन सुझाव दिइएको छ ।