
महोत्तरी - लागुऔषध (गाँजा) मुद्धामा फरार रहेका सर्लाहीका एक प्रतिवादी फेकन साह तेलीलाई प्रहरीले बर्दिवासबाट पक्राउ गरेको छ। आज मिति २०८२ साल असार २० गते दिउँसो करिब १ः१५ बजे बर्दिवास–सिन्धुली सडकखण्डको बर्दिवास न.पा.–३ स्थित स्थानबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिवास र ई.प्र.का. बर्दिवासका प्रहरी नायव निरीक्षक (प्र.ना.नि.) मिनबहादुर रावलको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले सर्लाहीतर्फ गइरहेको अवस्थामा फेकनलाई नियन्त्रणमा लिएको हो।
फेकन साह तेली सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. ३ डाबरी टोलका स्थायी बासिन्दा हुन्। उनीमाथि लागुऔषध (गाँजा) सम्बन्धी मुद्धामा संलग्न भएको आरोप छ। यसअघि पक्राउ परेका लालबाबु साह र अभिषेक परियारले अनुसन्धानका क्रममा दिएको बयानको आधारमा जिल्ला अदालत महोत्तरीबाट पक्राउ अनुमति जारी भएको थियो। उक्त सूचना पाउनासाथ खटिएको प्रहरी टोलीले बर्दिवासबाट करिब ५०० मिटर दक्षिणको स्थानबाट उनलाई नियन्त्रणमा लिएको हो।
हाल उनलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ। प्रहरीले उक्त घटनासम्बन्धी थप विवरण आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।