बारा - प्रसौनी गाउँपालिका–१ लचन टोलका ताराचन्द्र राउत र कुश्मीदेवी पटेल गत वर्ष असार २७ गते काठमाडौँ जान भनेर घरबाट बिदा भएका थिए । केही दिनका लागि भनेर उनीहरू काम विशेषले काठमाडौँका लागि प्रस्थान गरेका थिए ।
काठमाडौँ जाने क्रममा सोही रात उनीहरू सवार बस चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा खस्यो । अचानक आएको पहिरोले उनीहरू सवार बस सडकबाट तल खसेको थियो ।
ताराचन्द्र र कुश्मीदेवीका कान्छा छोरा अनुज पटेलका लागि त्यो कालो रात कहिल्यै खाटा नबस्ने घाउजस्तै बनेको छ । ‘एक जना आफन्त बिरामी भेट्न भनेर बुबाआमा काठमाडौँ जानु भएको थियो,’ उनले भने, ‘जानेवेलामा बुबाले आमाचाहिँ दुई/चार दिन काठमाडौँमै बस्ने र आफूचाहिँ बिरामीलाई भेटेर फर्किहाल्छु भन्नुभएको थियो ।’
राति ८ बजे वीरगञ्जबाट एञ्जल डिलक्स बस चढेर काठमाडौँतर्फ आमाबुबा प्रस्थान गरेको अनुजले बताए । ‘तर, उहाँहरू त कहिल्यै नफर्किने गरी जानुभएको रहेछ ।’
त्यस रात १० बजेतिर बुबाले बाटोबाटै आफूलाई फोन गरेको अनुजले बताए । ‘राम्रोसँग बस्नु, भोलि बिहान काठमाडौँ पुगेपछि फोन गरौँला भन्नुभयो,’ उनले भने, ‘तर बिहान बुबाको फोन आएन । फोन आओस् पनि कसरी ! उहाँहरू काठमाडौँ नै पुग्न पाउनु भएनछ । बाटोमै बस दुर्घटना भएछ ।’
२८ गते बिहान पहिरोले बस बगाएर त्रिशूली नदीमा खसालेको खबर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भइसकेको थियो । अनुजले पनि सामाजिक सञ्जाल हेरेरै चितवनमा दुई वटा बस त्रिशूली नदीमा खसेको थाहा पाए । अनि उनको मनमा चिसो पस्यो ।

‘न यताबाट फोन गर्दा लाग्छ, न उताबाट फोन आउँछ,’ अनुजले भने, ‘मध्याह्न १२ बजेसम्म पनि बुबाआमासँग सम्पर्क हुन नसकेपछि म वीरगञ्ज बसपार्कमा बुझ्न गएँ तर त्यहाँ बसको काउन्टर बन्द थियो ।’
पछि बुझ्दै जाँदा बुबाआमा सवार बस नै त्रिशूलीमा खसेको भन्ने पुष्टि भएको उनले बताए । ‘हामी ७/८ दिन बस खसेको ठाउँमा पुगेर खोज्यौँ । धेरै कष्ट भयो तर केही पत्ता लागेन,’ अनुजले भने ‘त्यसपछि गाउँका मान्छेले अब शव फेला पर्दैन, दाहसंस्कार गर्नुपर्छ भन्न थाले । अनि हामीले कुशको शव बनाएर दाहसंस्कार गर्यौँ ।’
अनुजका बुबा ताराचन्द्र पेसाले घर बनाउने मिस्त्री थिए । उनकै कमाइले घरमा दैनिक गुजारा चल्थ्यो । मिस्त्री काम गरेरै उनले २ छोराको पढाइलेखाइ र २ छोरीको बिहेदान समेत गरिसकेका थिए ।
आमाबुबाको शव फेला नपरेका कारण कहिलेकाहीँ त उनलाई ‘जीवितै हुनुहुन्छ कि’ जस्तो पनि लाग्छ रे । दिन, महिना हुँदै वर्ष बित्दासमेत अत्तोपत्तो नहुँदा स्वीकार गर्नबाहेक अर्को विकल्प नरहेको उनको भनाइ छ ।
आमाबुबा नहुँदा आफूले धेरै कष्ट झेल्नु परेको अनुज बताउँछन् । ‘मेरो पढाइ खर्च धान्न पनि धौधौ भएको छ,’ उनले भने ‘घटना भएको बेला पूर्वमन्त्री जितेन्द्र सोनल आएर म सहयोग गर्छु भनेर आश्वासन दिएर जानुभएको थियो, तर पछि फर्किएर आउनु भएन ।’

ताराचन्द्रकी जेठी छोरी रमावती देवी पनि बुबाआमा नहुँदा बेसहाराजस्तै हुनुपरेको बताउँछिन् । बुबाआमा एकसाथ गुमाएपछि टुहुरा बनेका भाइहरूको हेरचाह गर्न भनेर आफू माइतीमै बस्न थालेको उनले सुनाइन् ।
रमावतीका पति मुकेश र जेठो भाइ सरोज एक वर्षअघि वैदेशिक रोजगारीमा थिए । दुर्घटनामा बुबाआमाको मृत्यु भएपछि उनीहरू वैदेशिक रोजगारीबाट फर्किएर आए । गाउँमा कमाउने कुनै माध्यम नहुँदा ताराचन्द्रका दुई छोरा सरोज र अनुजका साथै ज्वाइँ मुकेश पनि बेरोजगारजस्तै छन् । मुकेश ज्यालादारी गरेर केही कमाउँछन्, त्यसबाटै उनीहरूको परिवारले गुजारा चलाउँदै आएको छ ।
सम्पत्तिको नाममा ४ धुर जग्गामा बनेको खपटाको घरमात्रै छ । दुर्घटनापछि पटेल परिवारले प्रदेश सरकारबाट मृतक प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले दुई लाख, सङ्घीय सरकारबाट ३ लाख, पालिकाबाट १ लाख र बीमा कम्पनीबाट १० लाख सहयोग पाएको बताए ।

जसले मृत्युलाई जिते
सिमलताल दुर्घटनामा परेर पनि तीन जनाले भने मृत्युलाई जितेका थिए । ती तीन जना भाग्यमानी थिए– रौतहटको देवाही गोनाही नगरपालिका–१ का नन्दन दास, राजदेवी नगरपालिका–९ का जोगेश्वर राय यादव, गढीमाई नगरपालिका–३ का सुरज गुप्ता ।
यीमध्ये नन्दन दासको अनुहारमा गम्भीर चोट लागेको थियो । अनुहारको हड्डीको अप्रेसन गरी उनी करिब एक महिनासम्म चितवन मेडिकल कलेजमा उपचाररत रहे । उपचारमा दुई लाख ५० हजार रुपैयाँ खर्च भएको नन्दन दासकी पत्नी पूजाले बताइन् ।
नन्दन दास हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा छन् । उनी यसअघि पनि ६ वर्ष साउदीमै सेक्युरिटी गार्डको काम गरेर फर्किएका थिए ।
घर फर्किएको करिब ८ महिनापछि उनी फेरि वैदेशिक रोजगारीका लागि जान भनेर काठमाडौँस्थित मेनपावर कम्पनीको सम्पर्कमा पुगे । सोही प्रक्रिया अन्तर्गत भिसा लगाउन भनेर उनी एक वर्षअघि काठमाडौँ आएका थिए । बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमार्फत उनी काठमाडौँबाट घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।

प्रारम्भिक उपचारका लागि सरकारले २ लाख २७ हजार रुपैयाँ उपलब्ध गराए पनि ‘फलो अप’का लागि तीन पटकसम्म चितवन जानु परेको र थप करिब ३० हजार रुपैयाँ आफूले ऋण खोजेर बेहोरेको पूजाले बताइन् ।
सामान्य पौडी खेल्न जानेका कारण नन्दन दास बच्न सफल भएको पूजाको भनाइ छ । ‘त्यतिका मान्छेको मृत्यु भयो, कयौँ बेपत्ता भए,’ उनले भनिन्, ‘धन्न मेरो श्रीमान् पौडी खेलेर नदीबाट बाहिर निस्कनुभएछ ।’
नन्दन दास अहिले पनि पूर्ण रूपमा स्वस्थ छैनन् । ‘पहिलाको जस्तो अवस्था त कहाँ हुनु १’ पूजाले भनिन्, ‘दुखेको वेला औषधि खाएर भए पनि काम त गर्नै पर्यो । तीन जना छोराछोरी छन् । तिनलाई पढाई लेखाइ गर्न, आफ्नो गुजारा गर्न पनि काम त गर्नै पर्छ ।’
नन्दन दास साउदीमा सेक्युरिटी गार्डकै कामका लागि गएका हुन् । पहिलाकै कम्पनीमा उनले काम पाएका छन् । उनकै कमाइले घर खर्च चलिरहेको पूजाले बताइन् ।
एकातिर कुनै काम गर्न नसक्नु र अर्कोतिर लामो समय उपचारमा लाग्दा घर खर्च चलाउन कठिन भएको, चितवनमा बस्दा खाना खर्च, फलो अपका लागि आउँदा–जाँदा लागेको खर्चले ऋण बोकाएको पूजाले बताइन् । यद्यपि, कतैबाट आर्थिक सहयोग नभएको उनको गुनासो छ ।स्रोत-रातोपाटी




