बर्दिवास- जानकी नारी समाज,बर्दिवासले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती एक भव्य कार्यक्रमका साथ मनाएको छ। बर्दिवास नगरपालिका – १४ स्थित सप्तकविन्द्र शिक्षा निकेतनमा आयोजित उक्त कार्यक्रम जानकी नारी समाज अन्तर्गतको उपसमिति 'जानकी स्रष्टा समाज'को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम जानकी स्रष्टा समाजकी अध्यक्ष जमुना पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सरिता ढुङ्गाना तथा विशिष्ट अतिथिका रूपमा जानकी नारी समाजकी अध्यक्ष मञ्जु मञ्जुभाषिणीको उपस्थिति रहेको थियो। सरिता पोखरेलको उद्घोषणमा सञ्चालित कार्यक्रमको स्वागत मन्तव्य सचिव राधा साहले राखेकी थिइन्। कार्यक्रममा बरिष्ठ शिक्षासेवी तथा साहित्यकार सुरेन्द्र पोख्रेलले विभिन्न भाषाका कविता उदाहरणसहित आदिकवि भानुभक्त आचार्यको जीवन, साहित्यिक योगदान, वर्तमान नेपाली साहित्यको अवस्था तथा समसामयिक चुनौतीहरूबारे विस्तृत प्रकाश पारेका थिए।
कार्यक्रममा मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपीराज दाहाल, कमला साहित्य कला समाजका अध्यक्ष गणेश तिमिल्सिना, लेखनाथ स्मृति सदनका अध्यक्ष जनक पौडेल, गौशाला साहित्य प्रतिष्ठानका सल्लाहकार रामगोपाल यादव, विश्व नेपाली साहित्य महासंघ महोत्तरीका अध्यक्ष उद्धव अविचल लगायतका स्रष्टाहरूले आ–आफ्ना सिर्जना वाचन गरेका थिए। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीका अध्यक्ष बेलबहादुर परियारले प्रस्तुत गरेको जोशिलो गीतले कार्यक्रममा थप उत्साह भरेको थियो।
साथै, बाल–बालिका सुजन, जगदीप, राजु, कामिनी, रञ्जनालगायतले प्रस्तुत गरेका सिर्जनात्मक प्रस्तुतीहरूले भावी पुस्ताप्रतिको आशा जागृत गराएको सहभागीहरूले बताएका थिए। कार्यक्रम अत्यन्त सभ्य, भव्य र साहित्यिक वातावरणमा सम्पन्न भएको थियो।




