गत असार -२२ गते काठमाण्डौको जडिवुटीमा दुर्घटना परेर घाईते भएका महोत्तरीका अरुण थापाको प्रहरीको लापरबाहीको कारण मृत्यु भएको आरोप लागेको छ ।
घाईते थापालाई उद्दार गरेर अस्पताल लैजाने क्रममा ट्याक्सीको पछाडी डिकीमा राखेको सिसिटिभी फुटेज बाहिरिएपछी परिवारले मृत्युको कारक लापरबाही नै भएको निष्कर्ष निकालेका हुन् ।



तर प्रहरीले भने घाईतेलाई उपचारको लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगेपछी उपचारको क्रममा चिकित्सकहरुले मृत्यु घोषणा गरेको दावी गरेको छ ।
यहीविचमा बाहिरिएको सिसिटिभी फुटेज हेर्दा भने प्रहरीले डिकीमा अमानवीय ढंगवाट कोचिएको देखिएको छ । फुटेजमा ईनड्राइभ ट्याक्सीलाई बोलाएर घाईतेलाई पछाडी डिकीमा राखिएको र प्रहरीहरु अगाडी वसेको देखिन्छ ।
यही विषयलाई लिएर मृतक थापाका परिवारले अमानवीय ढंगवाट प्रहरीले गरेको लापरबाही कै कारण मृत्यु भएको दावी गर्दै मानवअधिकारवादीहरुलाई गुहारेका छन् ।
मृतक थापाका भाई अनिल थापाले रहस्यमय ढंगले दाजुको मृत्यु भएको वताउदै घटनाको विषयमा स्वतन्त्र छानविन समिति गठन गर्न माग गरेका छन् । पिडित परिवारले आज नै मानव अधिकार आयोगमा उजुरी समेत दिएका छन् । उजुरीमा पारम्भिकरुपमा सिसिटिभी फुटेज हेर्दा प्रहरीले अमानवीयता देखाएको कारण मृत्यु भएको वताउदै नेपालको संविधान तथा मानवअधिकारको गम्भीर उल्लघंन भएको उजुरीमा उल्लेख गरिएको छ । पिडित परिवारले घटनाको सत्यतथ्य छानविन गरि न्याय दिलाउन र उचित क्षतिपुर्तिको व्यवस्थापन गर्न पनि माग गरेका छन् ।
घटनाका सम्बन्धमा कतिपय संकास्पद तथ्यहरु समेत देखिएको वताउदै मृतकका भाई अनिलले थप सिसिटिभी फुटेज माग्दा अस्पताल र प्रहरीले सार्वजनिक गर्न आनाकानी गरेको गुनासो गरेका छन् ।
महोत्तरी बर्दिवास-८ निवासी मृतक थापाका श्रीमती र दुई छोरीहरु रहेका छन् ।





