जनकपुरधाम ।केही दिन यता तराई मधेश क्षेत्रमा देखिएको पानी संकट सम्वन्धी वार्म अप टक प्रोग्राम सम्पन्न भएको छ । प्रदेशको चार वटै भू तथा जलाधार व्यवस्थापन कार्यालय तथा प्रदेश वन निर्देशनालय, समृद्धिको लागि वन परियोजनाका सम्पुर्ण कर्मचारीहरुको सहभागितामा मधेश प्रदेश भू तथा जल संरक्षण समाजद्वारा मधेश प्रदेश, वन सेवा, स्वायल एण्ड वाटर कन्जरभेसन समूह अन्तरगत नव प्रवेशी तथा पदोन्नती हुने कर्मचारीहरुको लागि आयोजित स्वागत तथा शुभकामना कार्यक्रममा समाजका अध्यक्ष बेचन कुमार महतोले Role of Watershed Management to Address Water Crisis in Madhesh Province विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुतिमा नेपालमा जलाधार व्यवस्थापन मार्फत पानीको व्यवस्थापन, जलाधारको अवस्था, जलाधार व्यवस्थापनमा संचालित आयोजनाहरु, हालको जल संकटको कारण, मधेशमा भुमिगत जलको न्यून उपलब्धताको कारण, भुमिगत जल उपलब्धताको अवस्था, भमिगत जल प्रयोग हुने गरेको तरिका, पानीको संकटलाई सम्वोधन गर्न जलाधारको भुमिका र महत्व, एकिकृत जलाधार व्यवस्थापन र पानीको उपलब्धता, जलाधार व्यवस्थापनमा देखिएको पर्यावरणीय, प्राविधिक, समाजिक–आर्थिक तथा साँगठनिक चुनौतीहरुको वारेमा प्रकाश पारिएको थियो ।




खोलानाला तथा वर्षाको पानी संकलन गर्ने प्राविधिक तौर तरिका, पुर्वाधार आयोजना संचालनको लागि वातावरणीय प्रभाव अध्ययन, कृषीमा साल्ट प्रविधी, पानीका श्रोतहरुको संरक्षण गरी गुणात्मक पानीको परिणात्मक उपलब्धताको विषय उपर छलफल भएको थियो ।

हाल प्रदेश सरकारले संचालन गर्ने गरेको जलाधार व्यवस्थापन सम्वन्धी कार्यहरु विज्ञानमा आधारीत नभई राजनितीमा आधारित भएकोले मधेश प्रदेशमा जलाधार व्यवस्थापनको कार्य गन्तव्यहिन यात्रा रहेको टिप्पणी गर्दै मधेश प्रदेशमा वर्षेनी चुलिने पानीको संकट समाधानको लागि राजनैतिक शक्ति इमन्दार भई तत्काल मधेश प्रदेशको छुटै जलाधार ऐन ल्याउनु पर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश वन निर्देशक जग्गनाथ प्रसाद जयसवालले मधेशमा देखिएको वर्तमानको चरम पानी संकटको सवाललाई सम्वोधन गर्न तिन वटै तहका सरकार, नागरिक समाज तथा आमनागरिक सम्वेदनशिल हुनु पर्नेमा जोड दिएका छन् । जलाधार व्यवस्थापन सम्वन्धि आवश्यकतामा आधारित नीति तथा कार्यत्रमको पहिचान भई सोहि अनुसार कार्यक्रमको कार्यान्वयन भएमा सकारात्मक प्रतिफल प्राप्त गर्न सकिने भन्दै समाजको यस किसिमको टक प्रोग्रामको प्रशंसा गर्नु भएको थियो ।
प्रदेश वन निर्देशनालय, जनकपुरधामको सभा हलमा आयोजित उक्त कार्यक्रममा २ जना वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत, ५ जना भू–संरक्षण अधिकृत र ३ जना भू–संरक्षण सहायक गरी जम्मा १० जना नवप्रवेशी तथा वढुवा भएका कर्मचारीहरुलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा नेपाल मधेसी निजामती कर्मचारी मन्चको केन्द्रिय अध्यक्ष लालवावु यादव, मधेशको लागि वनको सह सयोजक सुजित झा, प्रजान्त्रीक वन प्राविधिक सघका मनोज ठाकुर समेतको विशेष उपस्थिती रहेको थियो ।




