बिष्णु गुप्ता,जलेश्वर- नेपाल विद्युत् प्राधिकरणको जलेश्वर वितरण केन्द्रअन्तर्गतको दैनिक ज्यालादारी इकाई संघर्ष समितिले आफ्नो माग सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। समितिको पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अनुसार बिहिबार जलेश्वर वितरण केन्द्रमा कार्यरत कर्मचारीहरुले हाथमा कालोपट्टी बाँधी जलेश्वर वितरण केन्द्रका प्रमुखको कार्यकक्षमा धर्नामा बसेका थिए ।
संघर्ष समितिले एक सूचना प्रकाशित गर्दै विद्युत् प्राधिकरण सञ्चालक समितिको २०८० साल साउन ३१ गतेको निर्णय अनुसार दैनिक ज्यालादारी कामदारलाई सिफारिस गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ भएकाले साउन ५ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरिएको उल्लेख गरेको छ। नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिंङ् हुनेवेला ज्यालादारी कर्मचारीहरुलाई मासिक ज्यालादारीमा नियुक्ति सँगै चाडपर्व खर्च लगायत करार कर्मचारीले पाउने सरह अन्य सेवा सुविधा प्रदान गरिने घोषणा भएको ने.वि.प्रा. दैनिक ज्यालदारी ईकाई संघर्ष समिति जलेश्वर वितरण केन्द्रका अध्यक्ष अमरेश यादवले जानकारी दिए ।
” २०८० साउन ३१ मैं ९४९ औ बैठमा ज्यालादारी साथीहरुलाई मासिक ज्यालादारीमा नियुक्ती गर्ने घोषणा भएपनि हाल समम् कार्यन्वयन नभएको हुँदा धर्नामा बस्नुपर्ने भएको उनले बताए । ज्यालादारी कर्मचारीहरुको माग साउन ११ गते समम् पुरा नभए कडा आन्दोलन गर्ने तयारी रहेको अध्यक्ष यादवले जानकारी दिएका छन । जलेश्वर वितरण केन्द्रका प्रमुख ई. गजेन्द्र कुमार चौधरीले कर्मचारीले ध्यानाकर्षण गराएका विषय माथिल्लो निकायमा जानकारी गराईसकेको बताए । उनले निर्णय गर्ने काम प्रधान कार्यालयको रहेको छ सोही अनुरूप आन्दोलनरत कर्मचारीहरुले बुझाएको पत्र माथिल्लो निकायलाई जानकारी गराईएको बताए ।
गत साउन ५ गतेदेखि सुरु भएको आन्दोलन क्रमशः सशक्त बनाउँदै ल्याइएको छ। पहिलो चरणमा साउन ५, ६ र ७ गते कार्यकारी निर्देशकको कार्यालयमा धर्ना कार्यक्रम सञ्चालन गरिएको थियो भने आज साउन ८ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सम्पूर्ण इकाइ समितिबाट हाथमा कालोपट्टी बाँधी उनीहरु धर्नामा बसेका थिए । संघर्ष समितिले आफ्ना मागको सुनुवाइ नभए थप सशक्त आन्दोलनमा जानु पर्ने बाध्यता हुने स्पष्ट पारेका थिए । त्यस्तै आन्दोलनका कारण कार्यालयको काम प्रभावित हुनसक्ने र त्यसबाट महसुल संकलन, लाईन मर्मत, मिटर जडान लागयत कार्यालयको अन्य आकस्मिक कामहरु समेत प्रभावित हुन सक्ने भएको छ ।


