बिरगञ्ज,पर्सा – पर्सा जिल्लामा क्रियाशील विभिन्न कम्युनिस्ट पार्टीहरूको संयुक्त बैठक सम्पन्न भएको छ। बिरगञ्जको रानी सती धर्मशालामा सम्पन्न उक्त बैठकले ‘संयुक्त वाम अभियान पर्सा’ गठन गर्ने निर्णय गरेको हो।
बैठक नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकले संयुक्त वाम अभियानको नेतृत्व प्रत्येक दलले तीन–तीन महिनाको अवधिका लागि आलोपालो गर्ने सहमति गरेको नेकपा (एकीकृत समाजवादी) मधेश प्रदेश कमिटी सदस्य सुबेदार यादवले जानकारी दिए।



बैठकमा सर्वसम्मतिले संयुक्त अभियानको पहिलो चरणको नेतृत्व नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले गर्ने निर्णय गरिएको यादवले बताए।
त्यसैगरी, बैठकले अमेरिकाले प्यालेस्टाइनमाथि गरेको आक्रमणको विरोधमा श्रावण ११ गते (बिहीबार) साँझ ६ बजे बिरगञ्जको घन्टाघरमा प्लेकार्डसहित प्रदर्शन गर्ने निर्णय पनि गरेको छ।
बैठकमा सहभागी दलहरूले जनता प्रत्यक्ष सरोकार राख्ने विभिन्न मुद्दाहरूलाई साझा एजेन्डा बनाएर संयुक्त रूपमा अघि बढ्ने सहमति समेत जनाएका छन्।
बैठकमा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य बाबुराम कैशिक, निवर्तमान जिल्ला संयोजक रामदरश कुशवाहा, महमद सलाम, नेकपा एसका विक्रम चौरसिया, बृजलाल पासवान, राष्ट्रिय जनमोर्चाका अच्छेलाल साह, हिमाल चन्द्र गौतम, नेपाल मजदुर किसान पार्टीका सरोज साह, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका धनबहादुर श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका फिरोज सिकोको उपस्थिति रहेको थियो।




