जनकपुरधाम- धनुषा ट्राफिक प्रति जनचेतना फैलाउनका लागि आज देखि ट्राफिक सप्ताह शुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको आयोजनामा ट्रफिक सप्ताह शुरु भएको र एक सातासम्म विभिन्न प्रकारको जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरिने भएको हो ।ट्राफिक सप्ताहका पहिलो दिन आज जनकपुरधामको रामानन्द चोकवाट प्रहरीको व्याण्ड सहित विभिन्न क्षेत्रकाम व्यक्तिहरुको सहभागितामा जनचेतनामूलक रैली सम्पन्न भएको हो । जनचेतनामूलक रैलीमा सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाजका अगुवाहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विद्यार्थीहरु तथा व्यवसायीहरु सहभागि रहनु भएको थियो ।
रैलीपछि जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनमा आयोजना गरिईएको कार्यक्रममा धनुषाको ट्राफिक व्यवस्थापनमा विभिन्न प्रकारका योगदान दिनु भएका आधा दर्जन व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मानित गरिईएको छ ।सम्मानित हुनेहरुमा सडक डिभिजन कार्यालय धनुषाका प्रमुख दरोगा प्रसाद, यूवा अभियानी सरोज कुमार मिश्र, प्रादेशिक अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन प्रसाद सिंह, धनुषाधाम नगरपालिका वडा नंं ९ का वडाध्यक्ष सुरज कुमार लामा, प्रदिप कुमार सिंह र अमरचन्द अनिल रहनु भएको छ ।



मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले उहाँहरुलाई दोसल्ला ओढाएर सम्मानित गर्नु भएको थियो । कार्यक्रममा बोल्दै गृहमन्त्री महतोले मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधामको ट्राफिक व्यवस्थापनमा पछिल्लो समयमा भएको प्रगतिको सराहना गर्नु भयो ।उहाँले ट्राफिक व्यवस्थपनका लागि मधेश प्रदेश सरकारले निरन्तर सहयोग गर्ने बताउदै विगतमा भएको व्यवस्थापनलाई निरन्तरता दिदै थप सुधार तर्फ ध्यान दिनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गर्नु भयो ।
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जनकपुरधाम नगरक्षेत्रको ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिकाले ट्राफिक प्रहरीसंग सहकार्य गरेर अगामी दिनमा थप काम गर्ने बताउनु भयो ।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले ट्राफिक नियमको पालना गरेको खण्डमा यसले धनजनको क्षति हुनवाट जोगाउने भएकाले हरेकले ट्राफिक नियमको पालना गर्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्य बहादुर शाहीले बोल्नु भएको थियो ।




