महोत्तरी –बर्दिबासमा सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बर्दिबास-१० स्थित पूर्वपश्चिम लोकमार्गको वनपथ चौकमा शनिबार स्कुटरलाई ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बर्दिवासको अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–९ निवासी ३८ वर्षीय नरकुमार आचार्यको सवारी दुर्घटनामा परी ज्यान गएको छ भने उनकी श्रीमती ३२ वर्षीया धनकुमारी घिमिरे गम्भीर घाइते भएकी छन्। दुर्घटनामा गम्भीर घाइते आचार्यको बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यसैगरी टाउको, छाती र दुवै खुट्टामा चोट लागेको घाइते धनकुमारीको उपचार भइरहेकोछ।
शनिबार दिउँसो घरायसी कामका लागि स्कुटरमा सवार भई बर्दिबासतर्फ जाँदै गरेका आचार्य र उनकी श्रीमती धनकुमारी घिमिरे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१० स्थित वनपथ क्षेत्रमा दुर्घटनामा परेका थिए। आचार्यले चलाएको मधेश प्रदेश ०२–००८प–६८३४ नम्बरको स्कुटरलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको महोत्तरी प्रहरीले जनाएको छ।



दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताइएको छ।




