सर्लाही – सर्लाहीको बरहथवामा बिहीबार साँझ स्कुल बसको ढोकाबाट खसेर एक बालकको मृत्यु भएको छ। विद्यालय समय सकेर विद्यार्थीलाई घर छोड्न धनकौलतर्फ गइरहेको कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बसबाट खस्दा धनकौल गाउँपालिका–३, हरकठवाका १३ वर्षीय फैजान शेखको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार फैजान सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए। विद्यालय छुट्टीपछि घर फर्किँदै गर्दा बरहथवा नगरपालिका–८, टाँडी नजिक बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।



घटनापछि बस र चालक बागमती नगरपालिका–१० का २१ वर्षीय राजकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक बालकको शव अहिले वीरगन्जमै राखिएको प्रहरीले जनाएको छ।




