काठमाडौं – नेपाल प्रहरीको एक विशेष टोलीलाई केही दिनअघि एउटा सूचना आयो, ‘‘दुबईमार्फत आएको एक कार्गोका सामानमा हतियारजस्तो सामान छ ।’’
ती सूचना दिने व्यक्ति त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गोमा काम गर्ने सामान्य ‘लोडर’ थिए । प्रहरीलाई उनको सूचना त्यति पत्यार लागेन ।



तर, प्रहरीले सूचना पाएपछि चासो राख्दै सूक्ष्म ढंगले अनुसन्धान थाल्यो । शंकास्पद ठाउँ र व्यक्तिमाथि निगरानी बढायो । त्रिभुवन विमानस्थल हुँदै तीन महिनायता नेपाल भित्रिएका केही शंकास्पद व्यक्तिहरूबारे प्रहरीले निगरानी सुरु गर्यो ।
अघिल्लो साता प्रहरी शंकास्पद व्यक्तिसम्म पुग्न सफल भयो । प्रहरीको एक टोली भारतीय नागरिक सलीम मल्लिकसम्म पुग्यो । उनीसँगै उनका १९ वर्षीय छोरा अब्दुल कबिरसमेत थिए ।
दुवैजना दुबई हुँदै नेपाल आएका थिए । तिनीहरू तीन महिनादेखि सुन्धारास्थित एक होटलमा बस्थे । प्रहरीले दुवैलाई नियन्त्रणमा लिँदै अनुसन्धान थाल्यो ।
प्रहरीले पाएको सूचना जसरी उनीहरूका साथबाट कुनै हतियार भने फेला परेन । बरु उनीहरूको साथबाट प्रहरीले एक लाख ८३ हजार भारतीय रुपैयाँ, दुई लाख नेपाली रुपैयाँ र १२ हजार दिराम फेला पार्यो ।
सलीम मल्लिकको मोबाइलमा भने अत्याधुनिक हतियारका तस्बिरहरू फेला परे । प्रहरीले तिनी हतियार सप्लायर हुन् कि भन्ने आशंकामा अनुसन्धान सुरु गर्यो ।
तर, के कसुरमा अनुसन्धान चलाउने भन्नेमा प्रहरी अन्योलमा थियो । मल्लिकलाई पक्राउ गर्ने प्रहरीले थप अनुसन्धान गर्न सहज होस् भनी ‘अभद्र आचरण’को साहारा लियो ।
तर, हतियार तस्करीबारे मल्लिकले कुनै सूचना चुहाएनन् । कुनै ठोस प्रमाण फेला नपरेपछि प्रहरीले मल्लिकका बुबा–छोरालाई अभद्र आचरणमा कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं बुझायो ।
जिल्ला प्रशासन कार्यालयले दुवैलाई जनही १० हजार रुपैयाँ जरिवाना तिराएर छाड्ने निर्णय गर्यो । तर, विदेशी मुद्राका हकमा राजस्व अनुसन्धान विभागमा उपस्थित गराउन प्रहरीलाई निर्देशन दियो ।
त्यतिबेलासम्म अनुसन्धान गर्ने प्रहरीलाई मल्लिक अन्तर्राष्ट्रिय कुख्यात आपराधिक गिरोहका सदस्य हुन् भन्ने जानकारी थिएन । तर, प्रहरीकै अर्को युनिट, प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोले भने सलीम तीन वर्षदेखि नेपालमा हुनसक्ने आशंकामा निगरानी गरिरहेको थियो ।
तर, नाम शेख सलीम भनिने सलीम ‘पिस्टल’ थियो । पिस्टललाई पक्राउ गर्न भारतीय गुप्तचरी निकाय रिसर्च एन्ड एनालिटीकल विङ्स (रअ) र दिल्ली प्रहरीको टोली कैयौँपटक काठमाडौं आएको थियो । तर, उनी दिल्ली प्रहरी र रअको गिरफ्तारीबाट बच्दै आएका थिए ।
परिचय फेरेर यात्रा गर्थे सलीम
प्रहरीले उनको साथबाट सलीम मल्लिक नामको पासपोर्ट फेला पार्यो । तर, उनी प्रहरीको विशेष ब्युरोले खोजी गरिरहेको तथा रअ र दिल्ली पुलिसको टाउको दुखाइ बनेका शेख सलीम उर्फ सलीम पिस्टल नै भएको पुष्टि भयो ।
त्यसबाहेक प्रहरी अधिकारीका अनुसार, उनी यात्रा गर्दा ‘अरबान अख्तर’ नामको पासपोर्ट प्रयोग गर्ने गरेको खुलाएको छ । प्रहरीले उनलाई कारबाहीका लागि साउन २१ गते राजस्व अनुसन्धान विभाग बुझाएको थियो ।
विभागले २२ लाख ८३ हजार रुपैयाँ धरौटी लिँदै उनलाई छोड्यो । उनका छोरा अब्दुल कबिर भने साढे ११ लाख रुपैयाँ धरौटी तिर्न नसकेपछि ललितपुरस्थित नख्खु कारागार चलान भएका छन् ।
विभागकी उप–निर्देशक कृष्णकुमारी श्रेष्ठका अनुसार, सलीम २१ साउनमा धरौटी बुझाएर छुटेका हुन् ।
उनले भनिन्, ‘‘प्रहरीले विदेशी मुद्रा फेला पारेपछि हामीलाई बुझाएको थियो । तर, शेख सलीम धरौटी बुझाएर छुटे । उनका छोरा भने जेल चलान भएका छन् ।’’
उनी राजस्वबाट धरौटीमा छुटेलगत्तै भारतीय प्रहरीको विशेष आग्रहमा नेपाल प्रहरीले उनलाई भारत बुझाएको छ । उनी तीन वर्षअघि हत्या गरिएका पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या घटनामा जोडिएको खुलेको छ ।
त्यसबाहेक, भारतीय सञ्चार माध्यमहरूले बाबा सिद्दीकीको हत्यामा समेत सलीमको संलग्नता रहेको दाबी गरेका छन् । सलीम पाकिस्तानी कुख्यात अपराधी दाउद इब्राहिम र उनको ‘डी’ कम्पनीसँग पनि जोडिएर काम गर्ने गरेको दाबी भारतीय प्रहरीको छ ।
नेपाल प्रहरीको सहयोगमा दिल्ली प्रहरीले काठमाडौंबाट पक्राउ गरेर भारत ल्याउन सफल भएको दाबी गरिएको छ । सलीम नेपाल, भारत, पाकिस्तानलगायत अन्तरदेशीय हतियार सप्लाइ गर्ने मुख्य योजनाकारमध्ये एक रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूले दाबी गरेका छन् ।
लामो समय सलीमबारे चासो राखेका एक प्रहरी अधिकारीका अनुसार, उनी अन्तरदेशीय अपराध गर्ने गिरोहका एक नाइके हुन् । उनी काठमाडौंबाट हतियार भारत तस्करी गर्ने सूचना आफूहरुलाई भएको प्रहरीले जानकारी दिएको छ ।
ती अधिकारी भन्छन्, ‘‘उनी पाकिस्तान, दुबईलगायतका देशमा बस्ने र नेपाल फर्किँदा कार्गोमार्फत एक्स–रे मेसिनले समेत पत्ता नलाग्ने गरी हतियार ल्याउने गर्दथे ।’’
सन् २०२२ मे २९ मा पञ्जाबको मानसा जिल्लास्थित जवाहरके गाउँनजिक गोली हानी हत्या गरिएका गायक सिद्धु मूसेवालामाथि एके–४७, एके–९२ र एम–१६ का साथै टर्की निर्मित ‘जिगाना’ पिस्तोलबाट गोली चलाइएको थियो ।
त्यही हतियारका सप्लायर सलीम भएको दाबी भारतीय प्रहरीले गरेको छ । उनी यसअघि पनि दिल्ली प्रहरीले पक्राउ गरेको खुलेको छ । सुरुवाती चरणमा गाडी चोरी गर्ने आपराधिक धन्दा चलाएका सलीम पछि अन्तर्राष्ट्रिय आपराधिक समूहसँग मिलेर हतियार तस्करीमा लागेका हुन् । नेपाल प्रहरीको अनुसन्धानअनुसार उनी तीन वर्षदेखि नेपाल आउँदा एउटै होटलमा बस्ने गर्थे ।
पछिल्लो समय दुबईबाट नेपाल आएका उनी तीन महिनादेखि त्यही होटलमा बसिरहेको खुलेको हो । भारतीय सञ्चारमाध्यमहरूले उनको सम्बन्ध पाकिस्तानको खुफिया निकाय ‘इन्टर–सर्भिस इन्टेलिजेन्स’ (आईएसआई) सँग समेत रहेको दाबी गरेका छन् ।
भारतमा ठूला अपराधका घटनामा संलग्न आरोपी नेपाल प्रवेश गरेको आशंका भारतीय प्रहरीले पटक–पटक नेपालमा अपरेसन गर्ने गरेको छ ।
नेपाल–भारतबीच अपराधी बुझाउने कानुनी व्यवस्था छैन । तर, वर्षौदेखि अनौपचारिक रूपमा घटनामा संलग्नहरूलाई एक–अर्काका देशका प्रहरीलाई बुझाउँदै आएका छन् ।




