धनुषा। जनकपुरधाम सहित सम्पूर्ण मिथिलाञ्चलमा सूर्य भग्वान एवं दिनानाथको पूजाआजा गरी हर्सोल्लासका साथ मनाईने चार दिवसीय छठ पर्वको आज देखि विधिवत शुभारम्भ भएको छ।
छठ पर्वको पहिलो दिन आज सोमवार व्रतालुहरुले नहाखाए अर्थात नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका छन् ।
त्यसैगरी छठ पर्वको दोश्रो दिन भोली मंगलवार खरना मनाईन्छ । खरनाको दिन साँझ चामल ,सक्खर र दुध मिलाएर बनाईएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना गरिन्छ ।
श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा मनाइने छठ पर्व आज सोमवार देखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाइँदैछ ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउदो र उदाउदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाडाकुँडा वस्तुजातको बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।
विशेष गरेर तराईवासीले कात्तिक शुक्लपक्षमा मनाउने यो पर्व चार दिनसम्म मनाइन्छ ।
संस्कृतीविद पण्डीत इन्द्रकान्त झाले कात्तिक महिनाको चौथीदेखि व्रतालु भई यो पर्व मनाउन सुरु गर्ने र सप्तमीको बिहान पर्वको समापन गर्ने विधि रहेको बताउनुभयो।
पण्डीत झाका अनुसार पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिनमा व्रतालुहरुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज र कोदो जस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् । यो दिनलाई व्रतालुहरुले आँखा पनि भन्ने गर्छन् ।
पञ्चमी तिथि (दोश्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरु दिनभरि निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीरलाई लिने गरिन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।
षष्ठीका दिन (तेश्रो दिन) गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ । पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरुले श्रद्धापूर्वक गीत गाउने गर्दछन् ः
केरवा ज फरल घउरस वोपर सुगा मडराय ।
मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय ।।
अर्थात छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन । छठ मातालाई चढाउने केरा सुगाले नखाऊँन् भनेर गीतबाटै सचेत गराउन खोजिएको हो ।
सोही दिन अन्न बाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया, मुला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन् जसलाई छठ घाट भनिन्छ । यस अवसरमा व्रतालु महिलाहरुले श्रद्धापूर्वक गाउने गर्दछन् ः
हातबा मे फूलवा के डलिया, छठ पूजन जाय ।
छठी मैया होइब सहाय, छठ पूजन जाय ।।
अर्थात हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौँ, छठी माता हामीमाथि विशेष कृपा बनाइराख्नु होला ।
पुरोहित लालबाबु झाले निर्धारित जलाशयमा पुगेर परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँच पटक साष्टाङ्ग दण्डवत गर्नु पर्ने बताउँदै उहाँले भन्नुभयो, ‘ पुजाका सामग्री राख्ने ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन् ।’ अरिपन भनेको चामललाई पानी राखेर सिलौटो पिसेर बनाएको पेस्ट लेदो हो । अरिपनलाई पीठार पनि भनिन्छ।
त्यसपछि व्रतीले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसाद स्वरुप अर्घ दिन पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।
पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।
अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । प्रातःकालीन अर्घमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि प्राप्त हुन्छ ।
छठ पर्वको सन्दर्भमा महाभारतका अनुसार द्रोपदी सहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डवहरू मिथिलाको विराट राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रशन्न भई व्रतीका कुटुम्ब सहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभावमा भिक्षा मागेरै भए पनि यो पर्व मानिसहरू मनाउने गर्छन् ।
तराईवासी मधेसी समुदाय मुख्य पर्वको रुपमा रहेको यस छठ पर्व अहिले पछिल्लो समय आएर पहाडी समुदाय मात्र नभएर मुश्लिम धर्माबलम्बीहरुले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ ।
जनकपुरका वरिष्ट पत्रकार तथा मैथिलीका साहित्यकार रामभरोस कापडी भन्नुहुन्छ, ‘यस पर्वको अर्को विशेषताको रुपमा सबै जात जाती, ठूला साना, धनि,गरिब सबै ठाउँमा जम्मा भएर पूजा अर्चना गर्नु हो । यस कारण वर्षौ सम्म भेटघाट नभएकाहरु संग पनि भेटघाट तथा वार्तालाप हुने हुन्छ ।’
छठ पर्वको लागि यतिखेर मिथिलाञ्चल क्षेत्रका पानीका मुहानहरु हुने पोखरी , तलाउ , नदी , ईनार लगायतमा घाटहरु झकिझकाउ बनाउने काम भईरहेको छ ।