लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता अनिल कुमार झाको राजीनामा साउन ४ गते स्वीकृत भएको पाइएको छ ।
२०८१ चैत ८ गते झाले पार्टीको वरिष्ठ नेतासहित साधारण सदस्य समेतबाट सोही मितिदेखि लागू हुनेगरी राजीनामा गरेका थिए ।



तर, त्यसको ४ महिनापछि साउन ४ गते मात्र राजीनामाको पत्र प्राप्त भएको भन्दै अध्यक्ष महन्थ ठाकुरले राजीनामा स्वीकृत गरेका थिए । झाले दिएको राजीनामामा भने कुनै पनि कारण खुलाइएको छैन । झाले निर्वाचन आयोगलाई समेत राजीनामाको बोधार्थ गरेका थिए ।
‘म लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको वरिष्ठ नेतासहित साधारण सदस्य समेतबाट आजकै मितिबाट लागू हुनेगरी राजीनामा गर्दछु । मेरो राजीनामा स्वीकृत गरिदिनु भई सहयोग गरिदिनुहुन यसै पत्रमार्फत् अनुरोध गर्दछु । सहकार्यका दौरान अविस्मरणीय सहयोग गर्नुभएका अध्यक्षजीलगायत सबै साथीहरूलाई धन्यवाद,’ झाले दिएको राजीनामा पत्रमा भनिएको छ ।
झा लामो समयदेखि पार्टी गतिविधिबाट असन्तुष्ट रहँदै आएका थिए । झाले दिएको राजीनामा पार्टीबाट स्वीकृत भइसकेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।
‘उहाँले जुन दिन राजीनामा दिनुभएको थियो, त्यही दिन राजीनामा स्वीकृत गरेको थिएँ,’ ठाकुरले लोकान्तरसँग भने, ‘उहाँले पार्टीको कारण नभएर व्यक्तिगत कारणले राजीनामा दिनुभएको हो ।’

ठाकुरले पार्टीमा नेताहरू आउने जाने क्रम चलिरहने प्रतिक्रिया दिए ।
रौतहटबाट पटक-पटक सांसद भएका झा पछिल्लो पटक धनुषा-३ मा लोसपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । तर, उनी पराजित निर्वाचित हुन सकेनन् ।
पूर्व उद्योगमन्त्री समेत रहेका झा विगतमा नेपाल सद्भावना पार्टीमा आबद्ध हुँदै संघीय सद्भावना पार्टी स्थापना गरेका थिए । राष्ट्रिय जनता पार्टी नेपाल गठन हुँदा उनले संघीय समाजवादी पार्टी नेपाललाई समायोजन गरेका थिए ।
राजपा हुँदै जसपा नेपाल र पछि लोसपा नेपालमा उनी आबद्ध थिए ।-लोकान्तर




