महोत्तरी – औरही नगरपालिकाका सामुदायिक विद्यालयहरूमा वर्षौं देखि एउटै दृश्य दोहोरिन्छ-भवन ठूला, डेस्क–बेन्च नयाँ, कम्प्युटर ल्याब देखावटी, तर नतिजा शून्यको वरिपरि घुम्ने । एसईईको रिजल्ट आउँदा गाउँभर हर्ष होइन, लाजको महसुस हुन्छ । र, यो लाज केवल विद्यालयको होइन-यो हाम्रो समाजको सामूहिक असफलता हो । हैरानीको कुरा-निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने स्रोत सामुदायिक विद्यालयसँग छ, तर परिणाममा उनीहरू टाढै छन् । यसको कारण गरीब विद्यार्थी मात्र होइनन्, यसको कारण ‘जिम्मेवारी’ हराएको शिक्षा प्रणाली हो ।
शिक्षकहरूमा पेशागत अनुशासनको कमी, विद्यार्थीमा पढाइप्रतिको चासोको अभाव, अभिभावकमा निगरानीको कमी, र विद्यालय व्यवस्थापनमा राजनीति-यी चारवटा नासोका कारण सामुदायिक विद्यालय भासिंदै गएका छन् । अझ पीडादायी कुरा-यसमा जिम्मा लिने कोही छैन । यहाँका जनप्रतिनिधिहरू, स्थानीय नेता, राजनीतिकर्मी, समाजसेवी, युवा क्लब र समाजका अगुवा—सबैलाई यो थाहा छ । तर उनीहरू बोल्दैनन्, किनकि बोल्दा जिम्मेवारीको सवाल उठ्छ ।



उनीहरूका भाषणमा ‘शिक्षा’ ठूलो कुरा हुन्छ, तर व्यवहारमा त्यो केवल चुनावी पोस्टरको पंक्ति मात्र हुन्छ । अब यो मौनता अपराध बनेको छ । सुविधाको नाममा करोडौं खर्च गर्दा पनि नतिजा दिन नसक्ने विद्यालयमा प्रश्न उठाउन नडराउने, दोषीलाई जिम्मेवार ठहर गर्ने र परिणाम माग्ने समय आएको छ । यदि हामी अझै मौन बस्यौं भने, सामुदायिक विद्यालय केवल भवन र ताला–चाबीको नाममा बाँच्ने, तर शिक्षा र भविष्यका दृष्टिले ‘मृत’ संस्था बन्नेछन् ।
अब, यो लडाइँ शिक्षकको मात्र होइन, हरेक अभिभावक, हरेक सचेत नागरिकको हो । शिक्षा सुधारको लागि सडकदेखि सभासम्म आवाज उठाउनु पर्छ, नत्र हामी आफ्नै भविष्यलाई आफ्नै हातले गाडिरहेका हुन्छौं ।




