जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार जनकपुरधाम आउँदै छन् । मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटनका लागि प्रधानमन्त्री ओली जनकपुरधाम आउन लागेका हुन् ।उनि ११ः३० बजे काठमाडौँबाट धनुषाका लागि प्रस्थान गर्नुहुने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपियाँको लागतमा बनेको यो सुविधा सम्पन्न भवनमा ६८ वटा कोठा रहेको मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता गणेश नायकले जनाए।
विसं. २०८० असोज १० गते भवन निर्माणको जिम्मेवारी शिवालय सुवेदी जेभीले पाएको उनले जानकारी दिए । सम्झौता अवधि २०८२ असार मसान्तसम्मको थियो । सो भवनको निर्माण कार्य समयमै सम्पन्न भएको दाबी गरिएको छ ।
त्यसैगरी प्रधानमन्त्री ओली आज नै महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माणको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले जानकारी दिएका छन् । उनले दिउँसो १ बजे शिलान्यास कार्यक्रम रहेको बताए ।
मधेश प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको साझेदारी तथा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर खण्ड को ८.३८४ किलोमिटर कालोपत्रे सडक निर्माण गर्न लागिएको हो ।
२०८३ साल चैत ११ गतेभित्र सम्पन्न गर्नुपर्ने यस परियोजनाको कुल बजेट ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपियाँ विश्व बैंकको ऋण सहयोगबाट हुने भए पनि टेन्डर प्रक्रियाबाट ढुकुछु निर्माण कम्पनी प्रा.लि.सँग १९ करोड सात लाख ८३ हजार ६१८ रुपियाँ (भ्याटसहित)मा सम्झौता भएको छ ।
यस योजनाअन्तर्गत मधेश प्रदेशका २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोडिने छ । सोही परियोजना कै हिस्साको रुपमा यो सडक पनि रहेको छ ।




