
‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’
यो देशको मुहार फेर्नलाई उठ।
सोमबार बिहानदेखि फोन गर्दा सबैकोमा ‘कलर रिङ ब्यक टोन’ बज्ने यो गीत रामेश र रायनद्वारा संगीतबद्ध तथा स्वरबद्ध क्रान्तिकारी गीत हो। गणतन्त्र दिवसको सन्दर्भमा यो गीत नेपाल टेलिकमको मोबाइलमा बजाइएको छ।
२०४६ पछि आधुनिक रूपमा सङ्गीतबद्ध भए पनि यो गीत २०३१ सालमै लेखिएको हो। श्याम तमोटले लेखेको गीत सुरुमा उनैले संगीतबद्ध गरेका थिए।
यो गीत हालसम्म १७ बढी भाषामा अनुवाद गरिएको छ। चिनियाँ, हिन्दी र फ्रेन्चसहित १७ राष्ट्रिय र विदेशी भाषाहरूमा अनुवाद गरिएको छ। यो गीत तुलसी घिमिरे निर्देशित बलिदान चलचित्रमा राखिएको छ।
फिल्म २०५० ताका सालको बहुदलीय व्यवस्था आन्दोलनको घटनामा आधारित छ। गीत लेखेको पाँचदशक पुगिसक्दा आममानिसको मुखमा गीतको शब्द झुन्डिएको छ। अझै सबैले गाउँछन्, अझ राष्ट्रियताको सवालमा उनको गीत बजेको सुनिन्छ।
राजनीतिक मुद्दा उठाएको यो गीतले आम मानिसमा चेतना जगायो। सामाजिक, आर्थिक र राजनीतिक आन्दोलनको क्रममा सडकमा बज्न थाल्यो, गीत। सबैलाई क्रान्तिमा होमायो। राजनीतिक परिवर्तनलाई सघायो। पञ्चायती व्यवस्था अन्त्य हुँदै लोकतन्त्र र गणतन्त्रमा मुलुक आएको छ।
गीतमा पढेलेखेका बुद्धिजीवीलाई कलम लिएर उठ्न आह्वान गरिएको छ। किसान, मजदुर, श्रमिक सबैलाई जनाउने शब्दको रूपमा हातमा औजार हुनेहरू औजार लिएर उठ भनिएको छ। औजार पनि नहुने, बाजा पनि नहुने, कलम पनि नहुनेहरूले केही नभए आवाज लिएर उठ भनिएको छ। विभिन्न आन्दोलनमा यो गीत घन्काउँदै प्रदर्शन हुन्थ्यो। सोही आह्वानअनुसार सबैले आआफ्नो ठाउँबाट राजनीतिक परिवर्तनमा योगदान दिए।
यसरी रचना भयो ‘गाउँ गाउँबाट उठ’
पञ्चायती व्यवस्थामा पूर्वबाट एक जना क्रान्तिकारी ठिटो श्याम तमोट पञ्चायती निरङ्कुशता’विरुद्ध आवाज बुलन्द गर्दै थिए। विकास र पछौटेपनले गाँजिरहेको गाउँबस्ती थियो। हुनेखानेहरू र गरिबबीच गहिरो खाडल थियो। त्यो बेलामा समानता पनि थिएन।
त्यो चिर्नको लागि गाउँ बस्तीका अधिकारविहीन श्रमिक वर्गको आवाजलाई गीतमार्फत संसारलाई सुनाउन लेखे, ‘‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ।’’
अहिले ६८ वर्ष उमेरका ‘क्रान्तिकारी सर्जक’ श्याम तमोट उक्त गीत लेख्दा २२ वर्षका मात्र थिए। २०२२ सालमा पढ्नको लागि भोजपुरबाट झरेर धरान झरेका थिए। तत्कालीन तानाशाही पञ्चायती व्यवस्थाको दमनकारी नीतिका कारण उनमा जनजागृतिको भावना टुसाउन थालेको थियो। त्यही भावना झाङियो र उनले गीत लेखे। गीत उनले २०३१ सालमा लखेका हुन्।
श्याम तमोटले यो गीत २ घण्टामा तयार पारेको सम्झन्छन्। ‘‘सामाजिक, आर्थिक र राजनीतिक आन्दोलनका कार्यक्रम क्याम्पसमा हुन्थे। अरूमा पुगेको हुँदैनथ्यो। सबैलाई जगाउने उद्देश्यले गीत लेखेको हुँ। गीत लेख्न बसेको २ घण्टामै तयार गरे। सङ्गीत पनि सँगसँगै गरेको थिए,’’ उनले नेपालभ्युजसँग भने।
त्यो गीत बनेपछि सबैले स्कुल, क्याम्पसका कार्यक्रमहरू गाए। आन्दोलनमा गाए। विभिन्न राजनीतिक कार्यक्रममा गुन्जियो। झन्डै ५० वर्ष पुग्दा पनि आममानिसको मुखमा गीतको शब्द झुन्डिएको छ।
पञ्चायतकालीन समयमा विद्रोहमा विभिन्न राजनीतिक कार्यक्रम हुन्थे। त्यहाँ गाउँ-गाउँबाट उठलगायतका गीत बज्थे। प्रहरीहरू गोली हान्न आइपुग्ने गरेका थिए। कतिपयलाई पक्रेर जेलमा लगिन्थ्यो। राजकाज मुद्दा लगाइन्थ्यो। यस्ता गीत गाएर क्रान्तिको बिगुल फुक्दा दर्जनौंले जेलको क्रूरताको सामना गर्नुपर्यो। सयौँले झुटा मुद्दा खेपेर वर्षौंसम्म दुःख पाए।
‘गीतले के दियो’ भन्ने प्रश्नमा गीतकार श्याम तमोट भन्छन्, ‘‘राज्य व्यवस्था परिवर्तनका लागि अलिकति योगदान दिएको छ । म सन्तुष्ट छु। ’’
माओवादीको बिल्ला भिराइयो
सबै राजनीतिक दलले गाउँबस्तीमा बजाएर आमसर्वसाधारण ब्युँझाएको यो गीतलाई कुनै पार्टीको भन्दै आरोपसमेत लाग्यो। २०५२ मा भूमिगत भएको माओवादीले विभिन्न कार्यक्रममा यो गीत बजाउँथ्यो। पन यतकालमा भने राजनीतिकर्मीहरू यो गीत मुखैले गाउँदै हिँड्थे।
पछि रेकर्ड भयो। रेकर्डपछि माओवादीले धेरै प्रयोग गर्ने थ्यार्रे। यसैले कांग्रेस र एमालेका समर्थकले यो गीतलाई ‘माओवादीको गीत’ भनेर बिल्ला भिराउँथे।
गीतकार श्याम तमोट भन्छन्, ‘‘यो कुनै राजनीतिक दलको होइन। सबैको साँझ थियो। माओवादी कालमा माओवादीले धेरै प्रयोग गरेकाले उसैको भन्ने ठाने। पछि २०६२\६३ सालको आन्दोलनमा देशैभरका सडकैमै बज्यो। बल्ल सबैको साझा गीत रहेछ भन्ने ठाने। सबैले मनपराए।’’-नेपालभ्युज