जनकपुरधाम – जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ मधेस प्रदेश र नेपाल पत्रकार महासंघ धनुषाले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्।
साउन २७ गते नेपाल बार एसोसिएसन जनकपुरका केही वकिलहरूले पत्रकारमाथि सामूहिक आक्रमण गरी कुटपिट गरेको घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन ज्ञापनपत्रमार्फत माग गरिएको हो। उक्त घटनामा ६ जना पत्रकार घाइते भएका थिए।



वकिलको कुटपिटबाट महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिको खुट्टा भाँचिएको, पत्रकार अनिल कुमार निरालाको आँखामा चोट लागी सुन्निने अवस्था आएको, पत्रकार दिवाकर राईको टाउकोमा गम्भीर चोट लागेको उल्लेख छ। त्यस्तै, उपाध्यक्ष ज्योति झा र पत्रकार बिनीता यादवमाथि लैङ्गिक संवेदनशीलता बेवास्ता गर्दै आपत्तिजनक व्यवहार गरिएको आरोप महासंघले लगाएको छ।
महासंघका अनुसार जनकपुरधाममा महासंघको भवन निर्माणका लागि गुठीसँग सम्झौतामा प्राप्त जग्गामा बार एसोसिएसन जनकपुरले बलपूर्वक अतिक्रमण गर्दै पार्किङ सञ्चालन गरेपछि विवाद सुरु भएको हो। जग्गा रक्षा गर्न पत्रकारहरूले घेरा हाल्दा वकिल समूहले आक्रमण गरेको दाबी गरिएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि अहिलेसम्म कसैमाथि कारबाही नभएको ज्ञापनपत्रमा उल्लेख छ। महासंघले आक्रमणकारीलाई कानुनी दायरामा ल्याउन र पीडित पत्रकारलाई न्याय दिलाउन प्रधानमन्त्रीको हस्तक्षेपको माग गरेको छ।
ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री ओलीले उद्घाटन भाषणमा पत्रकारमाथि आक्रमण गर्ने जोसुकै भए पनि कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन्। प्रधानमन्त्री ओली मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि जनकपुरधाम आएका अवसरमा महासंघका अध्यक्ष श्यामप्रसाद बन्जारा र धनुषा शाखा अध्यक्ष पुरन साहले संयुक्त ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्र





