जनकपुरधाम – सर्लाहीको हरिपुर्वा नगरपालिकामा पुर्व शिक्षक पुकार रायको हत्यामा संलग्न रहेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।
हिजो राति करिब साढे ८ बजे मोटरसाइकलमा आएका हतियारधारीले गोली हानी पुर्व शिक्षक रायको हत्या गरेका थिए।
गोली हानेपछि भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा उनी पक्राउ परेको प्रहरीले जनाएको छ। दुर्घटनामा ती व्यक्ति गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार, घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।
पुर्व शिक्षक रायको उपचारका लागि महोत्तरीको जानकी एकेडेमिक हस्पिटल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।
पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


