पनौती,काभ्रे –विश्वकै अनौठो धार्मिक स्थल कालाग्निरुद्रपीठ लड्केश्वर धाममा हालसम्मको सबैभन्दा महत्वपूर्ण निशानी निर्माण तथा अनावरण मुकुन्द शर्मा हुमागाईको संकल्प र नेतृत्वमा सम्पन्न भएको छ । ६.५ केजी शुद्ध चाँदीबाट निर्मित यस निशानीको अनावरण संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री बद्री पाण्डे र सन्तसमाजका तर्फबाट श्री १००८ स्वामी रमणानन्द महाराजको संयुक्त करकमलबाट गरियो ।
समारोहमा विद्वान प्रा.डा. भवानी खतिवडा, भारत नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य लक्ष्मण पंथी, राजनितिज्ञ एवं समाजसेवी मधु आचार्य, पनौती नगरपालिकाका मेयर रामसरण भण्डारी, वेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, र अन्य स्थानीय प्रतिनिधि तथा भक्तजनहरुको गरिमामय उपस्थिती रहेको थियो ।



पीठाधीश मुकुन्द शर्मा हुमागाईले आफ्नो संकल्प अनुसार अब “राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा” अन्तर्गत हरेक जिल्लामा यस निशानीको यात्रा गरिने जानकारी दिनुभयो । साथै, दर्शन गर्न नपाएकालाई लड्केश्वर दर्शनको अनुभव प्राप्त हुने व्यवस्था सुनिश्चित गरिने भएको छ । यात्राको सुरक्षा र समन्वयका लागि गृह मन्त्रालयबाट ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार भइसकेको छ भने पीठले यात्राका लागि विशेष रथ तयार गरेको छ ।
मुकुन्द शर्माको प्रयास र नेतृत्वले लड्केश्वर धामलाई राष्ट्रिय धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा प्रवर्धन गर्ने बाटो खोल्ने विश्वास व्यक्त गरिएको छ । मन्त्री पाण्डेले पनि यस कार्यलाई समर्थन गर्दै राष्ट्र समृद्धि र धार्मिक पर्यटन प्रवर्धनमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
श्री १००८ स्वामी रमणानन्द महाराजले भने, “अब सबैले शिव भगवानसँग क्षमा मागेर देशलाई समृद्ध बनाउने अवसर आएको छ ।,” – जसमा मुकुन्द शर्माको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख छ ।




