महोत्तरी - मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच एकीकरण गर्ने निर्णय भएको छ ।
दुवै पार्टीका अध्यक्षहरूबीच भएको सहमति पत्रमा हस्ताक्षर भएसँगै एकीकरणको औपचारिक निर्णय भएको हो । जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसहित दुवै दलका पदाधिकारीहरूको काठमाडौंमा बसेको संयुक्त बैठकले एकीकरण गर्ने निर्णय गरेको जनाइएको छ ।वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गर्दै मधेशको मुद्दालाई थप सशक्त बनाउने उद्देश्यसहित एकता गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायतका अग्रगामी परिवर्तनका मुद्दालाई मजबुत बनाउँदै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गर्दै एकीकरण गरिएको जनाइएको छ ।
यसअघि २०७७ वैशाख १० गते तत्कालीन संघीय समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएर जनता समाजवादी पार्टी गठन भएको थियो । तर, डेढ वर्ष नपुग्दै २०७८ भदौको दोस्रो साता पार्टी विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको थियो ।
२०६३ सालपछिका राजनीतिक घटनाक्रमसँगै उपेन्द्र यादव र महन्थ ठाकुर मधेश आन्दोलनका प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएका नेताहरू मानिन्छन् ।





