बर्दिवास– मधेस प्रदेशका गृह सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले मुलुकमा सुशासन तथा समृद्धिको यात्रा पुरा गर्नका लागि सूचनाको हकको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ ।

मंगलबार १९ औं राष्ट्रिय सुचना दिवसको अवसरमा गृह, सञ्चार तथा कानुन मन्त्रालयले बर्दिबासमा आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ मा सञ्चारमन्त्री लेखीले वर्तमान संविधानले सूचनाको हकलाई जनताको मौलिक हकको रूपमा अङ्गीकार गरेकाले यसको कार्यान्वयनमा राजनीति नेतृत्व, राष्ट्र सेवक कर्मचारी तथा सुरक्षा निकाय गम्भीर र जबाफदेही बन्न जरुरी रहेको बताउनुभयो ।




उहाँले सूचनाको हकको कार्यान्वयनले लोकतन्त्र तथा गणतन्त्र बलियो हुने भएकाले सूचनाको हकका विषयमा आम जनता समक्ष प्रचार प्रसार हुन जरुरी रहेको बताउँदै यसका लागि सञ्चार माध्यम बढी जिम्मेवार बन्न जरुरी रहेको बताउनुभयो ।
गृहमन्त्री लेखीले सभ्य तथा पारदर्शी समाजको निर्माणका लागि सूचनाको हक हरेकले कार्यान्वयन गर्न जरुरी रहेको बताउँदै यसका कार्यान्वयन गर्नका लागि आम सञ्चार जगतको ठुलो भूमिका रहेको बताउनुभयो ।

साे कार्यक्रममा सुचनाको हकको लागि राष्ट्रिय महासंघ मधेस प्रदेशका अध्यक्ष डा अजय साहले मधेस प्रदेश प्रदेशमा सुचनाको हक कार्यन्वयनको अवस्था बारे एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डा साहले प्रस्तुत गर्नुभएको कार्यपत्रमा मधेस प्रदेशमा सूचनाको हक कार्यान्वयन आंशिक मात्र देखिएको उल्लेख गर्नुभयो । उहाँले कानुनी व्यवस्था बलियो भए पनि नागरिक सचेतना, प्रविधि, संस्थागत संरचना र सरकारी निकायको इच्छाशक्ति कमजोर भएकाले यो एेन को प्रभावकारी कार्यान्वयन नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यदि नागरिक समाज, सञ्चार माध्यम, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य गरी सचेतना, प्राविधिक पहुँच र प्रोएक्टिभ डिस्क्लोजरलाई सुदृढ गरियो भने तथा प्रदेश स्तरमा अलग्गै सुचना आयोगको व्यवस्था/गठन गरी मधेस प्रदेशमा सूचना अधिकारलाई व्यवहार मै सफलतापूर्वक लागू गर्न सकिन्छ। यसले लोकतान्त्रिक अभ्यासलाई बलियो पार्ने मात्र होइन, सुशासन र जवाफदेहिता पनि सुनिश्चित गर्नेछ।”
कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सरेश यादवले सुचनाको हक राष्ट्रिय र अन्तराष्ट्रिय अभ्यासहरु बारे चर्चा गर्नुभएको थियो ।
आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र खड्गाले सूचनाको हक कार्यान्वयनका लागि प्रदेश सरकारका निकायहरू बढी संवेदनशील तथा जबाफदेही बन्न जरुरी रहेको बताउनुभयो ।
मन्त्रालयका उपसचिव ओम प्रकाश महतोले सूचनाको हक सम्बन्धी कानुन तथा यसको कार्यान्वयनको अवस्थाविषयमा छुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सूचनाको हक सम्बन्धी राष्ट्रिय दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले मुलुकमा सुशासन, पारदर्शिता तथा जवाफ देहीताका लागि सूचनाको हकको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्न जरुरी रहेको बताउनुभयो ।

साे कार्यक्रममा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडका , चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डका अध्यक्ष किशोरकुमार लेखी, प्राधिकरण तथा काउन्सिलका सदस्यहरू मन्नु पासमान, रिन्कु मिश्र, बन्दना झा र ज्योति झा लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा मधेश प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतका निकायका सूचना अधिकारीहरू साथै सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यपत्रको विस्तृत विवरण :




