धर्बेन्द्र झा,जनकपुर- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकार मधेश प्रदेशमा शिक्षा सुधारका अवधारणाका साथ अघि बढेको बताउनुभएको छ ।
मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयले मंगलबार जनकपुरधाममा आयोजना गरेको एसइई परीक्षा २०८१ मा मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरी गरी पाँच जिल्लाका प्रत्येक स्थानीय तहबाट उत्कृष्ट नतिजा ल्याउन सफल छात्र र छात्राहरुलाई साईकल वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभयो ।
उहाँले दिनानु दिन शिक्षाको स्तर खस्किदै गएको मधेश प्रदेशको शिक्षाको गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक र सम्बन्धित सरकोकारवाला सबैलाई अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले यस वर्ष एसइईमा मधेश प्रदेशको कमजोर रिजल्टका बावजुद उत्कृष्ट रिजल्ट ल्याउन सफल भएका विद्यार्थीलाई अगामी दिनको उज्ज्वल भविश्यको कामनाका साथ बधाई दिनुभयो ।
मुख्यमन्त्री सिंहले राष्ट्रलाई आगामी दिनमा कसरी अघि बढाउने विषयको अभिारा पनि यहाँहरुको काँधमा आउन सक्ने भन्दै राष्ट्रको समृद्धि र विकासमा योगदान दिन पनि आग्रह गर्नुभयो ।
उहाँले विगतमा मधेश प्रदेशको शिक्षाको स्तरको देशभरी आफनो छुट्टै पहिचान रहेको थियो भन्दै त्यो पहिचान पुनः कायम गर्न आगामी दिनमा प्रदेश सरकारले योजनाबद्ध रुपमा कामकाज अघि बढाउने बताउनुभयो । उहाँले २०७५ सालदेखि मधेश प्रदेश लोकसेवा आयोगले लिएका रिजल्ट पेन्डिङमा रहेको कारण आफूले सरकारको नेतृत्व समाल्दा लोकसेवा आयोग मधेश प्रदेशमा रिक्त रहेको पदाअधिकारीको पदपूर्ति गरेको भन्दै आयोगको पदाअधिकारी नियुक्ति भएपछि करिव साढे पाँचसय जति कर्मचारीको सिफारिस भएको बताउनुभयो ।
उहाँले मधेश प्रदेशमा लोकसेवा आयोगले ५० प्रतिशत महिलाको आरक्षणको व्यवस्था गरे पनि कहिलेकाँही महिला कोटामा आवेदन नपरेपछि कहिलेकाँही महिला कोटाको भ्याकेन्सी खाली जाने गरेको सुनाउँदै लोकसेवाको तयारीसाथ निवेदन दिन महिलालाई उहाँले आग्रह गर्नुभयो ।
उहाँले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउने अभिभावकले पनि आफ्नो छोराछोरीमाथि ध्यान दिएमा शैक्षिक गुणस्तरमा हदैसम्मको वृद्धि हुने भन्दै गुणस्तरीय शिक्षाका लागि सबैको पहल हुन आवश्यक भएको बताउनुभयो ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल एसबिआई बैक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेशको पाँच जिल्लाका जेहेन्दार विद्यार्थीका लागि मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयलाई हस्तान्तरण गरिएको साइकल वितरण गरिएको छ ।
मधेश प्रदेशको पाँच जिल्लाको स्थानीय तहबाट सिफारिस भएर आएका एकसय ५० जनालाई साइकल वितरण गरिने कार्यक्रम रहेको शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशका शाखा अधिकृत लक्ष्मण रामले जानकारी दिनुभयो । कार्यक्रममा भारतको महाबाणिज्य दुताबास बीरगञ्जका प्रमुख देवी सहाय मिना, नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्रा, शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशका निमित्त सचिव दिलिप ठाकुरसहितकाको उपस्थिति थियो ।




