रौतहट - रौतहटको गौर–गंगापिपरा सडक खण्डअन्तर्गत मुडवलवा गेट नजिकबाट शनिबार राति प्रहरीले फेला पारेको शङ्कास्पद सुटकेसमा महिलाको शव बरामद भएको छ ।सडक किनारमा भेटिएको सुटकेस डोरीले कस्सिएको अवस्थामा रहेको र त्यसभित्र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
हत्या गरिएको अन्दाजी ३० वर्षीय महिलाको टाउकोमा चोट लागेको, रगत निस्किएको, घाटीमा निसान भेटिएको छ ।
यसैबीच बन्द सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।मृतक रौटहटको माधव नारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।
‘प्रारम्भिक अनुसन्धानमा उनी रुवीकुमारी साह रहेको खुलेको छ । उनका आफन्तहरु आएका छन् । मृतकको घर भारतको मुजफ्फरपुर हो । थप कुराहरु बुझ्ने काम हुँदैछ’ डिएसपी कार्कीले भने ।
उनका अनुसार मृतक रुवीका एक छोरा छन् । एक महिनादेखि माधवपट्टीमा उनी डेरा गरी बस्दै आएकी थिइन् । उनको हत्या गरेर शव सुटकेसमा राखेर फालेको हुन सक्ने प्रहरीको आशंका छ ।फितलो शान्ति सुरक्षाका कारण पछिल्लो दिनमा रौतहटमा हत्या हिँसा, चोरीको घटनामा वृद्धि भएको छ ।




