महोत्तरी – जनकपुरधामको अन्तःगृह परिक्रमासँगै १५ दिने मिथिला माध्यमिकी परिक्रमा मंगलबार सम्पन्न हुने भएको छ।
मिथिला बिहारी मन्दिर, मिथिला बिहारी नगरपालिका–ठेरा कचुरीबाट फागुन ८ गते भगवानको डोला प्रस्थान गरेसँगै मध्यमा परिक्रमा सुरु भएको थियो। परिक्रमामा सहभागी श्रद्धालु पदयात्रीहरू नेपाल र भारतका विभिन्न विश्रामस्थल हुँदै सोमबार जनकपुरधाम आइपुगेका छन्। मंगलबार जनकपुरधामको अन्तःगृह परिक्रमापछि औपचारिक रूपमा समापन हुनेछ।



अन्तःगृह परिक्रमा सम्पन्न भएसँगै जनकपुरधाम क्षेत्रमा होली मनाउने परम्परा रहेको छ। नेपाल–भारत दुवै देशको धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावको प्रतीकका रूपमा लिइने यस परिक्रमा पदयात्रामा नेपालतर्फ १३ र भारततर्फ २ गरी १५ विश्रामस्थल निर्धारण गरिएका छन्।
परिक्रमामा सहभागी यात्रीहरूले नेपालतर्फ १०७ किलोमिटर र भारततर्फ २६ किलोमिटर गरी कुल १३३ किलोमिटर पैदल यात्रा गर्ने गर्दछन्।





