जनकपुर- जनता समाजवादी पार्टी नेपाल, धनुषाले जनकपुरधाममा आईतबार (आज) विरोध तथा जनप्रदर्शन गरेको छ। हजारौंको संख्यामा जसपा नेपालका नेता तथा कार्यकर्ताले जनकपुरधाममा विरोध र्याली निकाल्नुका साथै जनप्रदर्शन गरेका छन्।
पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि झुटा आरोप लगाइएको भन्दै उनीहरुले विरोध स्वरुप जनकपुरधाममा लगातार एक हप्तादेखि विरोध प्रदर्शन गर्दै आएको छ। विरोध प्रदर्शन जनकचोकबाट शुरु भई भानुचोक, कदमचोक, विद्यापति चोक हुँदै पुनः जनकचोकमा पुगी कोण सभामा परिणत भएको थियो।
हजारौको सहभागिता रहेको विरोध प्रदर्शनको क्रममा जसपा नेपालका नेता कार्यकर्ताहरुले मधेश माथिको षडयन्त्र तत्काल रोक्न सरकारलाई चेतावनी दिएको छन्। भूमि विधेयकमा अहसयोग गरेको झोकमा अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा फसाउँन षड्यन्त्र भइ रहेको भन्दै उनीहरुले सरकारको आलोचना गरेका छन्।
प्रदर्शनकारीहरुले भूमि विधेयक फिर्ता लेउ, झुठा मुद्दा खारेज गर, मधेशमाथि षडन्त्र बन्द गर जस्ता नारा लगाएका थिए। कोणसभामा नेताहरुले सरकारद्वारा भइ रहेको मधेश माथिको षडयन्त्र तत्काल बन्द नगरिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन्।
उनीहरुले भूमि विधेयक मार्फत मधेशलाई औपनेशिकीकरण गर्दै मरुभूमिमा रुपान्तरण गर्ने षडयन्त्रको विरोध गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवलाई १८ वर्ष पुरानो मुद्दा फसाउन राज्य संयन्त्र लागि परेको आरोप समेत लगाएका थिए।




