रौतहट- जन्मदिनलाई होटल, रेष्टुरेन्ट वा महँगो भोजमा मात्र खर्च नगरी समाजसेवामार्फत पनि मनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलले आफ्नो जन्मदिन अनाथ टुहुरा बालबालिकासँग मनाएका छन्।
रौतहटको परोहा नगरपालिका–८ मोतिपुर नरकटिया निवासी तथा मधेश मिडिया प्रा.लि.का अध्यक्ष र रिपोर्टर्स क्लब नेपाल, मधेश प्रदेशका कोषाध्यक्ष समेत रहेका पत्रकार पटेलले बिहीबार बिहान रौतहटको गरुडा नगरपालिका–४ मा अवस्थित बंशीराम जयसवाल अनाथालय पुगेर २६ जना बालबालिकासँग जन्मदिनको खुशी साटासाट गरेका हुन्।

उहाँले बालबालिकासँग मिठाइ बाँड्नुका साथै चामल, दाल, आलु, प्याज, तेल, साबुन, नुहाउने सामग्री, चकलेट, बिस्कुट, चाउचाउ, चिउरा, चिनी लगायत खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेका थिए।
पत्रकार पटेलले भने,
“आफ्नो जन्मदिनमा महँगो होटलमा केक काटेर लाखौं रुपैयाँ खर्च गर्नेभन्दा अनाथ टुहुरा बालबालिकाको अनुहारमा खुशी ल्याउन सक्नु नै सबैभन्दा ठूलो पुण्य हो।”
अनाथालयमा रहेका बालबालिकाको कठिनाइ प्रत्यक्ष अवलोकन गर्दै उनले थपे,
“यहाँका स–साना बाबुनानीसँग भेट्दा एकछिन भएपनि जीवनको वास्तविक अर्थ महसुस भयो। आफ्नै सन्तानलाई हेर्न पनि अभिभावकलाई कति कठिन हुन्छ भने २६ जना बालबालिकालाई एकसाथ हेरचाह गर्नु कस्तो चुनौतीपूर्ण कार्य होला भन्ने कुरा मैले कल्पना पनि गर्न सक्दिन।”
स्व. बंशीराम जयसवालले स्थापना गरेको यो अनाथालय संस्थापकको निधनपछि पनि निरन्तर सञ्चालनमा रहेको छ। त्यहाँका बालबालिकाले अभिभावकको अभावका कारण भोग्नुपरेको कठिनाइ र दैनिक खर्च जुटाउनुपर्ने समस्याबारे पत्रकार पटेललाई बताएका थिए।

युवा पत्रकार पटेलले आफ्नो जन्मदिनमा अनाथालयलाई सहयोग गर्दै समाजलाई सन्देश दिएका छन्। उनले आग्रह गर्दै भने,
“तपाईहरूको जन्मदिन, विवाह वा अन्य खुशीका अवसरमा अनावश्यक खर्च नगरी असहाय र टुहुरा बालबालिकासँग खुशी बाँड्नुहोस्। हाम्रो सानो सहयोगले पनि उनीहरूको अनुहारमा ठूलो मुस्कान ल्याउन सक्छ।”
उनको विश्वास छ- समाजसेवामा रुचि राख्ने जोकोहीका लागि यस्तो कार्य प्रेरणादायी बन्न सक्छ।




